spot_img

जलनको प्राथमिक उपचार तालिमको अनुभव

म सोविता थापा । सानैदेखि स्वास्थ्यकर्मी बन्ने प्रवल इच्छा थियो । यकिन गरेर भन्न त सक्दिन, तर कुनै घटना वा कसैको प्रभाव परेर हुन सक्छ, कलिलै उमेरदेखि नै ‘नर्स’ बनेर ग्रामीण भेगका जनताहरूको सेवा गर्ने इच्छा जागृत भएको थियो । ग्रामीण परिवेशमा जन्म भएको र परिवारको आर्थिक अवस्था पनि अनुकुल नभएर ‘नर्स’ बन्न त सकिएन, तर किशोरी उमेरमा नै अ.न.मी.को अध्ययन सकेर मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिकाको वडा नं. २ स्थित भैँसे स्वास्थ्यचौकीबाट मेरो सेवा प्रारम्भ भएको थियो । आफ्नो घर नजिकैको स्वास्थ्यचौकीमा लगभग एक वर्ष सेवा गरेपछि २०७२ साल माघ १ गतेबाट फाखेल स्वास्थ्यचौकीमा मेरो सरुवा भयो । यसरी म झण्डै साढेचार वर्षदेखि इन्द्रसरोवर गाउँपालिका, वडा नं. ४ को फाखेल स्वास्थ्यचौकीमा कार्यरत छु । 

फाखेल स्वास्थ्य चौकीमार्फत् सुरक्षित मातृत्व सेवामा आवद्ध हुनुका साथै फाखेल स्वास्थ्यचौकीबाट प्रदान गरिने सेवाहरूः परिवार नियोजन, खोप क्लिनिक, गाउँघर क्लिनिक, स्वास्थ्य शिक्षा प्रर्वद्धन कार्यक्रम, पोषण सेवा, एच.आई.भि. तथा एड्ससम्बन्धी सचेतना तथा परामर्श सेवा दिने कार्यमा सहभागी भई यस गाउँपालिकाको वडा नम्वर २, ४ र ५ का नागरिकहरूलाई सेवा दिँदै आईरहेकी छु ।

जलन सेवासम्बन्धी अनुभव

इन्द्रसरोवर गाउँपालिका, वडा नम्वर ४ मा रहेको फाखेल स्वास्थ्य चौकीमा कार्य गर्न थालेपछि सानातिना जलन भएका थुप्रै बिरामीहरूलाई जलनको प्राथमिक उपचार दिँदै आए तापनि आपूmमा जलनसम्बन्धी कुनै विशेष ज्ञान र सीप थिएन । स्वास्थ्य सेवामा सङ्लग्न भएदेखि नेपाल सरकारबाट स्वास्थ्यसम्बन्धी थुप्रै तालिम प्राप्त गर्ने अवसर पाएको छु । तर, अहिलेसम्म जलनसम्बन्धी विषयमा कुनै पनि तालिममा बस्ने अवसर पाएको थिइन । त्यतिमात्र होइन, स्वास्थ्यसम्बन्धी अन्य तालिम कार्यक्रममा जलन विषय समावेस गरिएको पनि याद छैन । गाउँघरमा जलनका घटनाहरू बेलाबेलामा (अझ खासगरी जाडोयाममा) भई नै रहन्छन्, तापनि जलनको उपचारसम्बन्धी तालिम किन नदिइएको होला भन्ने लागि नै रहन्थ्यो । हामी आफूसँग भएको सीपअनुसार जलनका बिरामीहरूलाई प्राथमिक उपचार दिने गथ्र्यौँ र ठूला जलन भएका बिरामीलाई काठमाडौ ‘रिफर’ गरिदिन्थ्यौँ थप उपचारको लागि ।

जलनसम्बन्धी तालिम र त्यसको उपलव्धी

गत वर्ष जलन रोकथाम अभियानमा सक्रिय संस्था सगुन नेपालका प्रतिनिधिहरूसँग फाखेल स्वास्थ्यचौकीमा जलन विषयबारे छलफल कार्यक्रम भएको थियो । उक्त कार्यक्रमबाट हामीले जलनका विविध पक्षबारे जानकारी पाउन सक्यौँ । नेपालमा जलनको अवस्था, जलनका कारण, प्रकार र यसको असर आदि विषयमाथि छलफल भयो । त्यसको केही महिनापश्चात् २०७६ साल असोज १३ गते सगुन नेपाल र इन्द्रसरोवर गाउँपालिकाको संयुक्त आयोजनामा एकदिने ‘जलनको प्राथमिक उपचार’ विषयमा तालिमको आयोजना भयो, जसमा गाउँपालिकाका पाँचैवटा स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो । तालिम कार्यक्रममा जलनको अवधारणागत पक्षका साथै यसको प्राथमिक उपचार गर्ने विधि र प्रक्रियाबारे सिकाइएको थियो । जलनका बिरामीको अवस्था पहिचान गर्ने तरिका, जलनको क्षेत्र र गहिराई पत्ता लगाउने तरिका, जलनको बिरामीको जलवियोजनको अवस्था बुझी जलव्यवस्थापन गर्ने तरिका, जलनको घाउको ड्रेसिङ गर्ने तरिका लगायत धेरै विषयलाई व्यवहारिक रुपमा अभ्यास गरी सिक्ने अवसर पायौँ । यस तालिमअघि नेपालका जुनैसुकै अस्पतालमा जलनको उपचार हुन्छ भन्ने लागेको थियो, जुन गलत रहेछ । जलनका बिरामीलाई थप उपचारको लागि सही अस्पतालमा ‘रिफर’ गर्न जानेका रहेनछौँ भन्ने थाहा भयो ।

त्यसको केही महिनापश्चात् मैले र फाखेल स्वास्थ्यचौकीकै अन्य स्वास्थ्यकर्मीले काठमाडौंको साँखुस्थित सुषमा कोइराला मेमोरियल अस्पतालमा पाँचदिने तालिम कार्यक्रममा सहभागी हुने अवसर पाएका थियौँ, जसमा ‘जलनको घाउको ड्रेसिङ’ लगायत अन्य सीप सिक्न पाइयो ।

अब हामी जलनको बिरामी स्वास्थ्यचौकीमा आईपुगेपछि उसको सही तरिकाले प्राथमिक उपचार गर्न सक्ने भएका छौँ । बिरामीको नियमित गुणस्तरीय ड्रेसिङ गर्न सक्छौँ । जलनका बिरामीलाई प्रभावकारी प्राथमिक उपचार सेवा दिई बिरामीको अनावश्यक खर्च घटाउन र बिरामी मनोबल बढाउन मदत गर्न सक्ने भएका छौँ । हामीले उपचार गर्न नसक्ने बिरामीहरूलाई सही तरिकाले जलनको उपचार हुने अस्पतालमा सम्पर्क गरी पठाउन सक्ने भएका छौँ ।

जलनको रोकथामबारे

गाउँघरतिर प्राय आगो र तातो झोल पदार्थबाट भएका जलनका बिरामी आउँछन् । कहिलेकाहिँ करेन्ट लागेर जलन भएकाहरू पनि आउँछन् । सामान्य कारणले गर्दा जलनका घटना भएको देखिन्छ । जाडोयाममा आगो ताप्न बस्दा होसियारी नहुँदा जलन भएको देखिन्छ । थोरै मात्र सावधान हुन सकिएमा पनि जलनलाई रोक्न सकिन्छ । सुधारिएको चुल्हो प्रयोग गरिएमा, ग्याँस चुल्होको सुरक्षित प्रयोग भएमा जलनका धेरै दुर्घटनाबाट जोगाउन सकिन्छ । घरमा विजुलीको नाङ्गा तारको उचित व्यवस्थापन गर्नुपर्छ । बालबालिकालाई आगोजन्य पदार्थबाट टाढा राख्नुपर्छ ।

गाउँका मानिसहरूमा जलनसम्बन्धी जानकारीको कमी छ । उनीहरूले जानकारी पाउने माध्यम कमै छ । त्यसैले स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वंयसेविकाहरूले आमा समूहको वैठकमा गई जलनसम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्नुपर्छ । जलनबाट आफू र आफ्नो परिवारलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने जानकारी दिनुपर्छ । त्यस्तै, जलन रोकथामको लागि निम्न कार्य गर्न सिकाउनु साथै ती कार्य गर्न लगाउनु पर्छः

(क) जलन कसरी हुन सक्छ भन्ने कुरा बुझाउन समुदाय स्तरमा जलनसम्बन्धी शिविर सञ्चालन गर्ने ।
(ख) महिला स्वास्थ्य स्वंयसेविकाहरूबाट आमा समूहको बैठकमा जलनसम्बन्धी छलफल गराउने ।
(ग) घरमा नाङ्गा तार छन् भने उक्त तारको उचित व्यवस्थापन गर्न लगाउने ।
(घ) विषादी, तेजाब आदिको विक्रीमा उचित व्यवस्थापन गर्न लगाउने र विषादीहरू केटाकेटीबाट टाढा राख्ने ।
(ङ) ग्याँस र ग्याँस चुल्होको सुरक्षित प्रयोगको लागी ग्याँस र ग्याँस चुल्होको गुणस्तर र मापदण्ड तोक्ने ।
(च) विपन्न वर्गमा ग्याँस र ग्याँस चुल्होको उपलब्धता नभएको ठाउँमा सुधारिएको चुल्हो वितरण गर्ने ।
(छ) इन्द्रसरोवर गाउँपालिकालाई जलनमुक्त गाउँपालिका बनाउन विद्यार्थी, शिक्षक, कर्मचारी, बुद्धिजिवि, राजनैतिक कार्यकर्ता, समाजकेन्द्र, महिला स्वास्थ्य स्वयंसेविकाहरू तथा अन्य सबै वर्गका मानिसलाई उपस्थिति गराई अभियान सञ्चालन गर्ने ।

माथि उल्लेख गरिएका कुराहरू गर्न सकिएमा जलनका घटनाहरूलाई न्यूनिकरण गर्न सकिन्छ । जलनको प्राथमिक उपचारसम्बन्धी तालिम कार्यक्रममा सहभागी भएपछि अहिले समुदायमा अवस्थित स्वास्थ्यचौकीमा नै जलनको प्राथमिक उपचार गर्न सक्ने भएकी छु । यसले गर्दा उपचारको लागि बाहिर जान नसक्ने महिला, बालबालिका तथा आर्थिक रुपमा विपन्न वर्गलाई विशेष सुविधा मिलेको छ । अहिले मलाई महसुस भएको छ कि थोरै ज्ञान र सीपको अभावले गर्दा सानोतिनो जलनकै कारण कतिको अङ्गभङ्ग हुने रहेछ र पछि घाउ बिग्रिसकेपछि उपचार गर्न जाँदा ठुलो रकम लाग्ने रहेछ । यसलाई सम्बन्धित निकायले पनि महसुस गरी समुदायस्तरमा नै स्वास्थ्यकर्मीहरुलाई यस्ता सीप दिनु जरुरी छ ।

सोबिता थापा
+ posts

3 COMMENTS

  1. Good , तालीमबाट जलनको उपचार गर्न सक्षम भएकोमा तपाईंलाई बधाई छ। व्यवस्थित लेख मार्फत जानकारी गराउनु भएकोमा धेरै धेरै धन्यवाद !

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here

सम्वन्धित सामग्री