प्रदेश नं. २ को राजधानी जनकपुरधाम उपमहानगर पालिकासँगै जोडिएर रहेको लक्ष्मीनिया गाउँपालिका ‘भगवती लक्ष्मीनिया’को मन्दिरका कारण पनि प्रख्यात छ । साविकको सिनुरजोडा गाविस नयाँ संरचनामा लक्ष्मीनिया गाउँपालिकाको वडा नं १ र २ का रुपमा बाँडिएको छ । पालिकाको वडा नं. १ मा अवस्थित यसै सिनुरजोडा गाउँको अधिकारी पोखरी टोलमा राजेश कुमार मण्डल आफ्नो परिवारसहित वसोवास गर्दै आईरहेका छन् । घरको कमजोर आर्थिक अवस्थाका कारण राजेश गाउँकै विद्यालयमा कक्षा ९ सम्ममात्र पढ्ने अवसर पाए । परिवारको आर्थिक व्यवस्था मिलाउन अत्यन्तै कठिन भएपछि राजेशको बुवा रामआशो मण्डल साउदी अरबमा मजदुरको रुपमा कमाउन गए । विदेशमा बुवाको राम्रो कमाई नरहेकोले यता राजेश घरखर्चका लागि सानै उमेरमा गाउँघरमै ज्यालामजदुरी गर्दथे । काम गर्ने दौरानमै एकदिन अचानक
घटना असोज २ गते, २०६८ सालको हो । गाउँमै एकजनाको नयाँ निर्माण भइरहेको घरको छतमा उनले मजदुरको रुपमा इँट्टा, बालुवा, सिमेन्टको मसला तथा पानी ओसारपसार गर्ने कार्य गरिरहेका थिए । त्यसबेला राजेशको दुवै हातखुट्टा पानीले भिजेको र खुट्टामा चप्पल पनि नलगाएको अवस्था थियो । काम गरिरहेकै छतको थोरै छेउबाट ११००० भोल्ट विद्युत प्रवाह भइरहेको बिजुलीको तार गएको थियो । कामको सुरमा विद्युतको तार नजिकै रहेको कुरा राजेशलाई यादै भएन । बिहानको लगभग ११ बजेको थियो । इँट्टा जडान कार्यका लागि मिस्त्रीलाई बालुवा–सिमेन्टको मसलादिने क्रममा त्यहीँ नजिकै रहेको ११००० भोल्ट रहेको विद्युतको नाङ्गो तारले राजेशको देब्रेहात तान्यो । विद्युतको नाङ्गो तारमा राजेशको हात छोईनेबित्तिकै विद्युतको लाईन आफै काटिएको भएर उनी बेहोस भएर भुईमा लडे । यदि लाइन नकाटिएको भए उनको ज्यानै जानसक्थ्यो । त्यतिन्जेल सम्ममा उसको हात, खुट्टा लगायतका अङ्गहरु जलिसकेको र पुरै शरीर कालो भइसकेको थियो । सँगै कामगरिरहेका मिस्त्री तथा अन्य मजदुरहरुले “राजेशलाई करेन्ट लाग्यो, राजेश मर्यो, राजेश मर्यो” भन्दै चिच्याउन थाले । त्यहाँको कोलाहल सुनेर “के भयो” भन्दै दर्गुदै आत्तिएर गाउँलेहरु घटना स्थलसम्म छिनभरमै आइपुगे । त्यहाँको अवस्था देखेर गाउँलेहरु सङ्कटमा परे । ‘के गर्ने, कसो गर्ने’ भनेर सबैजना अन्यौलमा परे । करेन्टको झट्काको कारण प्रभावित अङ्हरुबाट छाला आफै निस्किरहेको थियो र छालाभित्रको सेतो भाग देखिन थालेको थियो । घटनाको खबर पाउनबित्तिकै राजेशको घरपरिवारका सदस्यहरु रुदैं कराउँदैं घटना स्थलमा आइपुगे । स्थानीय स्वास्थ्यकर्मी बेचन यादवको सल्लाहअनुसार तत्कालै राजेशलाई एम्बुलेन्समा राखेर उपचारको लागि जनकपुरको केयर मेडिकल अस्पतालमा लगियो ।
उक्त अस्पतालमा आठदिनसम्म उपचार हुँदासमेत उनको स्वास्थ्य स्थितिमा अलिकति पनि सुधार नआएकोले घरपरिवारकै सल्लाहमा भोलीपल्ट नै उनलाई थप उपचारको लागि बि.पी. कोइराला मेमोरियल अस्पताल, धरानमा लगियो । उपचारको क्रममा देब्रेहात तथा बायाँ खुट्टाका औँलाहरु करेन्टले डढिसकेको कारणले काट्नु पर्ने भयो । हातखुट्टाका औलाहरु काटिनुपरेको कारण राजेश लगायत उनका परिवार निकै नै निराश भएको कुरा आँसु झार्दै सुनाईन् राजेशकि आमाले । लगातार ६ महिनाको उपचार पछि स्वास्थ्यमा सुधार आएपश्चात् मात्र उ घर फर्केको थियो ।
वास्तविक खर्चको यकिन नभए तापनि राजेशको उपचारमा लगभग सात/आठ लाख रुपैया खर्च भयो । कमजोर आर्थिक अवस्थाका कारण उपचारमा लागेको सम्पूर्ण रकम ऋणमा लिनु परेको थियो । बुवाले वैदेशिक रोजगारबाट कमाएर ल्याएको पैसा र केहीमात्रामा घडेरी जग्गा बेचेर उक्त ब्याज रकम चुक्ता गरेको कुरा उनका वावु बताउँछन् । राजेशको उपचारमा कसैबाट आर्थिक सहयोग पाएनन् ।
हाल राजेशको शरीरमा लागेका घाउहरु निको भईसके तापनि हातखुट्टाहरु सुकेका छन् । अहिले पनि कामकाज गर्न कठिनाई हुने र साधारण हिड्डुल गर्न पनि गाह्रो हुने गरेको छ । उपचारको क्रममा देब्रेहातका औंलाहरु गुमाएको र हाल उक्त हात पनि सुकिसकेको कारण बाँयाहातले नै दैनिक कार्य तथा खानपिन गर्नुपर्ने स्थिति छ । उपचारको क्रममा लगाइएका केहि टाँकाहरु अझ पनि यथावत् छन् । रकम अभावको कारण थप उपचार गराउन नसक्दा तेस्तो स्थिति आएको हो ।
आफ्नो अपाङ्ग हातखुट्टा हेर्दा र उक्त ११००० भोल्ट भएको विद्युतको झट्का लागेको दुर्घटना सम्झिदा अहिले पनि उनको शरीर काम्न थाल्दछ । तसर्थ, बिजुलीको तारको वरिपरि वा नजिकमा कामकाज गर्दा, बिजुलीका उपकरणहरु जडान वा मर्मत गर्दा अत्यन्तै सावधानी तथा होसियारीपूर्वक काम गर्न छरछिमेक तथा जनसमुदायमा सल्लाह दिने गर्छन् । घरपरिवारबाट पाएको साथकै कारण पुनर्जीवन पाएको कुरा सहस्र बताउँछन् राजेश ।




