spot_img

हाइटेनसन लाईनसँग होसियार

मेरो नाम पुजा जयसवाल हो । मेरो जन्म रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नं. ६ पथरा, बुधराममा एक मध्यम परिवारमा भएको थियो । मेरो मामाघर भारतको विहार राज्यको पूर्वी चंपारण जिल्लाको घोड़ासहन भन्ने गाउँ, जुन नेपाल–भारत सिमा क्षेत्रमा पर्दछ । कुरा केही वर्ष अगाडीको हो मेरो बुवाले मेरो मामाघर नजिकै जमिन किनेर घर बनाउनु भएको थियो । घर पुरा तयार भएपछि हामी सपरिवार नवनिर्मित घरमा सरेका थियौँ । नयाँ घरमा सरेको केही समयमा नै जलनको घटनामा परेर म घाईते भएकी थिएँ ।

घटना २०६९ साल भाद्र अन्तिम साता तिरको हो । लगभग दिउँसो २ बजेको थियो, म एक्लै छतमा आफ्नै सुरमा डुलिरहेकी थिएँ । मेरो घरको छतको थोरैमाथि हाइटेन्सनको लाईन थियो । उक्त लाईनमा ११,००० भोल्ट रहने विजुलीको नाङ्गो तार भएको कुरा मलाई ख्यालै भएन र अचानक उक्त तारलाई छुन पुगेँ । अहिले सम्झँदा त्यस तारलाई मैले छोएँकि तारको तरङ्गले मलाई तानेको थियो ठम्याउन सक्दिन । म ठुलो स्वरले चिच्याएर बेहोस भई भूईमा लडेको अवस्थामा भेटिएको परिवारका सदस्यहरु बताउँछन् । मलाई त्यस्तो अवस्थामा देख्दा मेरो परिवारमा रुवाबासी चल्यो र तुरुन्तै बुवाले मलाई बोकेर घर नजिकैको क्लिनिकमा लैजानु भयो । त्यो क्लिनिकमा सामान्य उपचार गरेपछि मलाई मोतिहारीको रहमनिया स्वास्थ्य क्लिनिकमा थप उपचारको लागि लगियो । घटनाको सात दिनपछि मात्र मलाई होस आएको थियो, तर म बोल्न सक्ने अवस्थामा थिईन । लगभग १५ दिनपछि मात्र अलिअलि बोल्न थालेको कुरा मेरा बुवाले बताउनु हुन्छ ।

विद्युतीय झट्काले मेरो अनुहार अनि शरीरमा कस्तो असर पारेको थियो मलाई थाहा थिएन । अनुहारको अवस्था हेर्न आतुर थिएँ र आमासँग ऐना मागेँ । तर आमाले मलाई ऐना दिनुभएन, जसले गर्दा मनमा अनेक कुरा खेल्न थाले र केही समयपश्चात् मेरो बेड नजिकै रहेको झ्यालको सिसामा मैले आफ्नो अनुहार देखेँ । आफ्नो अनुहारको अवस्था देखेर जोडले रुन–कराउन थालेँ । विद्युतको झट्काले गर्दा मेरो अनुहार जलेर बिग्रीसकेको थियो । चिउंडो र ओँठ दुवै एकै ठाउँमा टाँसिएको र छालामा डल्लाहरु निस्केका थिए । 

घाउमा सुधार आएपछि लगभग एक महिनापश्चात् मलाई घर लगियो । घरमा पुगेर तीन हप्तासम्म ड्रेसिङ गर्ने काम गरियो । घटनाको केही समय पछिको कुरा हो, चितवन जिल्लाको भरतपुरमा जलनसम्बन्धी शिविर हुन लागेको थाहा पाएर जाँच गराउन त्यहाँ पुगेँ । शिविरमा पुगेर चित्त नबुझेपछि उपचार नगराई घर फर्किएँ । जलनको घटनाले गर्दा मेरो अनुहार कुरुप देखिएकोमा बुवाआमा साह्रै नै चिन्तित हुनुभएको थियो र राम्रो उपचारको लागि मलाई काठमाडौं लैजाने निर्णय भयो । बुवाको एकजना मित्रको सल्लाहअनुसार उपचारको लागि मलाई काठमाडौंको शाँखुस्थित सुषमा कोइराला मेमोरियल अस्पताल लगियो । उक्त अस्पतालमा टाँसिएको ओँठ र चिउँडोलाई शल्यक्रिया गरी छुट्याइयो र डल्ला परेका छालालाई सम्याइयो ।

घाउका केही दागहरु त अझै छन् । अनुहारको बनोटमा राम्रो सुधार आएकोमा म खुशी भएँ । उपचारमा जम्माजम्मी दुई लाख पचास हजार रुपैँया जति खर्च भएको थियो । जलनको घटनाले म लगायत मेरो परिवारका सदस्यहरु आर्थिक तथा मानसिक तनावमा पर्‍यौँ । हाल म सामान्य जीवन बिताई रहेकी छु । आफ्नो क्षमता समेत अभिवृद्धि गर्नका लागि रौतहटको एउटा समाजिक संस्थामा कार्यरत छु र कामको साथै आफ्नो पढाई पनि अघि बढाई रहेकी छु ।

हाल कार्यरत संस्थाबाट म समुदायमा विभिन्न विषयमा सहजीकरण गर्ने काम गर्दछु । समुदायमा कुनै पनि छलफल गर्दा जलनको बारेमा कुराकानी गर्ने गरेकी छु । सबैलाई बिजुलीको तारबाट सर्तक रहन सल्लाह दिने गरेकी छु । साथै ११,००० भोल्ट प्रवाह हुने हाइटेनसन लाइन वरपर नबस्न र त्यस्तो स्थान छेउछाउ कुनै पनि प्रकारको काम नगर्न भन्ने गरेकी छु । सरकारले पनि हाइटेनसन लाइन वरपर घर लगायत अन्य कुनै पनि प्रकारको निर्माण गर्न दिनु हुँदैन । अन्त्यमा, म सबैलाई हाइटेनसन लाइनसँग होसियार हुन अनुरोध गर्दछु । मैले जस्तो पीडा अरुले भोग्न नपरोस् ।

पुजा जयसवाल
+ posts

1 COMMENT

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here

सम्वन्धित सामग्री