जलनबारे धेरैलाई जानकारी हुँदैन । प्रायले जलन मेरो समस्या होइन भन्ने ठान्छन् । जलन भइहालेमा तत्कालै के गर्ने, कुन अस्पतालमा लैजाने, जलनले कस्तो शारीरिक, मानसिक, आर्थिक र सामाजिक समस्या निम्त्याउँछ भन्नेबारे अत्यन्तै कमलाई मात्र थाहा हुन्छ । जलनको समस्यालाई कम आंकलन गर्नु हुँदैन । नेपालमा एक वर्षमा लगभग ६० हजार जना जति जलनमा पर्ने गरेको देखिन्छ । यसैको कारण वर्षेनी झण्डै २५ सय जनाले ज्यान गुमाउने गरेका छन् भने हज्जारौँको सङ्ख्यामा अपाङ्ग हुन पुग्छन् । जलन भईसकेपछि यसको उपचारको लागि लामो समय अस्पतालमा बिताउनुपर्ने हुन्छ भने यसको उपचार खर्च पनि अत्यन्तै धेरै महंगो पर्दछ । तर, थोरै मात्रै होसियारी पुर्याउने हो भने ९० प्रतिशतभन्दा बढी जलनका घटनाहरु रोकथाम गर्न सकिन्छ ।
नेपालमा जलन रोकथाम गर्न र जलन–पीडितहरुलाई गुणात्मक उपचार सेवा पु¥याउन सहयोग गर्ने उद्देश्यले २ वर्ष अघि स्थापना गरिएको ‘नेपाल बर्न फाउण्डेसन’ जलनसम्बन्धी सचेतना अभिवृद्धिका लागि सक्रियताका साथ विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । यही २०७८ फागुन २० गते फाउण्डेसनले एलआरई (Learning Realm International) स्कूलको १०, ११ र १२ कक्षामा अध्ययनरत ३९ जना विद्यार्थीहरुको लागि जलन रोकथामसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । सचेतनामूलक कार्यक्रममा जलनका घटनासम्बन्धी तथ्याङ्क, जलनका कारण तथा असरहरु, जलनको घटनामा तत्कालै गर्नुपर्ने कार्य आदिबारे जानकारी दिइएको थियो । जलनको प्राथमिक उपचार गर्ने तरिकाबारे छलफल तथा आधारभूत अभ्यास गरिएको थियो । जलनको दुर्घटना हुन सक्ने क्षेत्र तथा यसले पार्ने असरबारे छलफल गरेपछि जलन रोकथामका रणनीतिबारे विद्यार्थीहरुबिच बहस सञ्चालन गरिएको थियो ।

नेपाल बर्न फाउण्डेसनका अध्यक्ष प्रा.डा. पीयुश दाहालको अध्यक्षतामा सञ्चालित कार्यक्रमको सञ्चालन संस्थाका कोषाध्यक्ष हेमन्तध्वज जोशीले गर्नु भएको थियो । कार्यक्रमको प्रारम्भमा संस्थाका वरिष्ठ उपाध्यक्ष अधिवक्ता बालकृष्ण गैरेले स्वागत मन्तव्य दिनु भएको थियो । प्रा.डा. शंकर मान राई र डा. किरण नकर्मीले सहजीकरण गर्नु भएको उक्त कार्यक्रम कार्यक्रम कीर्तिपुर अस्पतालको सभाकक्षमा सञ्चालन गरिएको थियो ।
समाज परिवर्तनको लागि युवाहरुको भूमिका महत्वपूर्ण हुन्छ । युवाहरुको सक्रिय भएमा जलनका घटनाहरुलाई उल्लेखनीय रुपमा रोक्न सकिन्छ । यसरी, कार्यक्रम सहजकर्ताहरुले अधिकांश जलन दुर्घटनालाई रोक्न सकिने तर यसको लागि युवाहरुको भूमिका विशेष रहनेबारे प्रकाश पार्नु भएको थियो । कार्यक्रमका अध्यक्ष डा. दाहालले जलन रोकथामको लागि योगदान गर्न चाहने कलेजलगायत अन्य सामाजिक संघसंस्थाहरुसँग सहकार्य गर्न फाउण्डेसन सँधै सक्रिय रहने कुरा बताउनु भयो । कार्यक्रम सहजकर्ता डा. राईले कीर्तिपुर अस्पतालले प्रारम्भ गरेको छाला दान कार्यक्रमबारे बताउनुका साथै छालादानले कसरी जलनका बिरामीहरुलाई बचाउन सकिन्छ भन्नेबारे स्पष्ट पार्नु भएको थियो । सचेतना कार्यक्रममा जलन रोकथामका लागि तयार पारिएका पोष्टर, फ्लायर तथा अन्य सामग्रीहरु वितरण गरिएको थियो । कार्यक्रममा सहभागी विद्यार्थीहरुमध्ये धेरैले जलनसम्बन्धी पहिलो पटक जानकारी पाएको र कार्यक्रममा भएको सिकाईले जलनबाट बच्न सहयोग मिल्ने कुरा व्यक्त गरे । साथै, सहभागी सबै विद्यार्थीहरुले आगामी दिनहरुमा सहपाठी विद्यार्थीहरुलाई जलनसम्बन्धी जानकारी सेयर गर्ने र आफ्नो परिवार तथा छिमेकीहरुलाई जलनबारे बताउने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रमको अन्त्यमा एलआरआई स्कूलका क्षितिजा श्रेष्ठले कार्यक्रम आयोजक संस्था तथा सम्पूर्ण सहजकर्ताहरुलाई धन्यवाद दिनुका साथै जलन रोकथाम तथा छाला दानबारे सूचना संप्रेशण गर्न योगदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
‘लेखक हेमन्तध्वज जोशी नेपाल बर्न फाउण्डेसनका कोषाध्यक्ष हुनुहुन्छ’




