spot_img

इन्द्रसरोवर गाउँपालिकामा स्वास्थ्य शिविर सम्पन्न

सगुन संस्था, इन्द्रसरोवर गाउँपालिका र सुषमा कोइराला मेमोरियल अस्पतालको संयुक्त आयोजना तथा स्तुपा सामुदायिक अस्पतालको सहभागितामा मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिकाको वडा नं. ४ को फाखेल स्वास्थ्यचौकी र वडा नं. ५ को चन्द्रगढी स्वास्थ्य चौकीमा ‘स्वास्थ्य शिविर’ सम्पन्न भएको छ ।  मिति २०७८ चैत्र २५ गते वडा नं. ४ मा र २६ गते वडा नं. ५ मा शिविर सञ्चालन भएको थियो । वडाबासीको स्वास्थ्य समस्याको पहिचान गरी गुणात्मक स्वास्थ्य सेवा निशुल्क रुपमा समुदायमा नै उपलब्ध गराउने उद्देश्यका साथ शिविर सञ्चालन गरिएको थियो ।

समुदायका आगोले पोलेको, पुरानो घाउ बिग्रिएको, गाँठागुँठी तथा ट्युमर भएको, हर्निया भएको, ओँठ काटिएको (बालबालिका), पाठेघरको समस्या भएको (महिलाहरू), पाइल्स तथा रुघा, खोकी, ज्वरो जस्ता समस्या भएका बिरामीहरूलाई स्वास्थ्य सेवा प्रदान गरिएको थियो । गाउँपालिकाका ४ र ५ वडाका जम्मा २३७ जना बिरामीहरुले सेवा लिएका थिए, जसमध्ये २९ जनालाई गम्भीर प्रकारको सर्जरी (शल्यक्रिया) गर्नुपर्ने देखिएकोले उनीहरुलाई १५ दिन भित्रमा सुषमा कोइराला मेमोरियल अस्पताल, साँखुमा लगी निशुल्क शल्यक्रिया गरिनेछ । यसको लागि आयोजक संस्था सगुन तथा वडा कार्यालयहरुले संयोजन गर्नेछन् ।

डा.मनोहर यादव, डा.अञ्जु कार्की, डा.सनिर कार्की

स्वास्थ्य शिविरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाण्डौका प्रमुख डा. अन्जु कार्की, सुषमा कोइराला मेमोरियल अस्पतालका सर्जन डा. मनोहर यादव, स्तुपा अस्पतालका डा. सनिर कार्की र प्यारामेडिक्स सन्तोष भण्डारीले सेवा प्रदान गर्नु भएको थियो । आयुर्वेदिक साथै एलोप्याथिक पद्दतीको उपचार र औषधिको प्रयोगबाट रोगको उपचार सेवा दिइएको थियो ।

स्वास्थ्य शिविरमा उपलब्ध सेवाबारे इन्द्रसरोवर गाउँपालिकाका प्रतिनिधिहरुको बिचार
श्री धनवीर स्याङ्तान, वडाअध्यक्ष, वडा नं. ४:
“सगुन संस्थाको सहजीकरणमा हामीले स्वास्थ्य शिविर सञ्चालन गर्न सफल भएका छौँ । झण्डै ९० जनाले गम्भीर प्रकारका स्वास्थ्य सेवा पाएका छन् भने अपरेसन गर्नुपर्ने बिरामीहरुलाई सुषमा कोइरालाई मेमोरियल अस्पतालमा लगी अपरेसन गर्ने तयारी गरेका छौँ । यसको लागि सगुन संस्था, सुषमा कोइराला मेमोरियल अस्पताल र स्तुपा सामुदायिक अस्पताललाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु । यो पटक आयुर्वेदिक पद्धतिबाट पनि उपचार दिइएको छ । यस कार्यका लागि सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिन चाहन्छु । आगामी दिनमा पनि हाम्रो वडाबासीलाई सेवा दिने कार्यमा यहाँहरुको सहयोग मिलोस् भन्ने अपेक्षा राखेको छु ।”

श्री धनराज महर्जन, वडाअध्यक्ष, वडा नं. ५:
“काठमाडौंबाट नजिक भैकन पनि हाम्रो वडामा विविध प्रकारका समस्याहरु छन् । स्वास्थ्य समस्या समाधानका लागि सबै सुविधा यहाँको स्वास्थ्यचौकीमा उपलब्ध नहुँदा सानो समस्या पर्दा पनि काठमाडौं पुग्नुपर्ने वाध्यता छ । यसबारे सगुन संस्थासँग छलफल गरी हालै स्वास्थ्य सर्जरी शिविर सञ्चालन गर्न सफल भएका छौँ । मेरो वडाका जम्मा १५० जनाले स्वास्थ्य सेवा लिन पाएका छन् । केही जटिल प्रकारका अपरेसन गर्नुपर्ने बिरामीहरुलाई सुषमा कोइराला मेमोरियल अस्पतालमा लगेर निशुल्क अपरेसन सेवा दिने निधो गरिएको छ । म हाम्रो वडाबासीलाई सेवा दिने कार्यमा सहयोग गर्नुहुने सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु । भविष्यमा पनि वडाबासीलाई स्वास्थ्य सेवा दिने कार्यमा यहाँहरुसँग सहकार्य गर्न चाहन्छु ।”

कार्यक्रम सम्पन्न गर्न आयोजक सगुन संस्थाबाट कमल फुयाल, महन्त बाबु महर्जन, पुण्यश्वरी सुवाल, रिमा ढुंगेल, सुमन गिरी र जेनी खड्काको सक्रिय सहभागिता रहेको थियो । साथै, फाखेल स्वास्थ्यचौकी र चन्द्रगढी स्वास्थ्य चौकीका सम्पूर्ण कर्मचारीहरुको सक्रिय सहभागिताका कारण शिविर सफलतापूर्वक सम्पन्न हुन सकेको छ ।

संवाददाता रिमा ढुंगेल जनस्वास्थ्यकर्मी हुन्

रिमा ढुंगेल
+ posts

1 COMMENT

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here

सम्वन्धित सामग्री