spot_img

विकासका लागि अनेक सम्भावना बोकेको काप्राङ

जनस्वास्थ्यको विद्यार्थीको नाताले मानिसहरूको स्वास्थ्यको अवस्थाबारे जान्नु, उनीहरूको स्वास्थ्यमा सकारात्मक वा नकारात्मक असर पार्ने सामाजिक तथा सांस्कृतिक कारणहरूबारे खोजी गर्नु र सुस्वास्थ्यको लागि सम्बन्धित समुदायसँगै अन्तरक्रिया गरी उपायहरू पत्ता लगाउनु जस्ता कुराहरूमा चासो राख्ने गर्दथेँ । यसै कारण केही महिनाअघि ‘समुदाय स्वास्थ्य अध्ययन तथा निरुपण’का लागि मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका, वडा नं. ३ को दक्षिण–पूर्वी भेगमा अवस्थित काप्राङ गाउँ पुग्ने अवसर पाएँ । लगभग १ महिनाको बसाईमा काप्राङ गाउँका महिला, पुरुष, बालबालिका, वृद्धवृद्धा, स्वास्थ्यकर्मी, समाजसेवी, शिक्षक, विद्यार्थीलगायत धेरैसँग अन्तरक्रिया गर्न पाइयो । बसाई छोटो थियो, तर यस क्रममा काप्राङ गाउँ र त्यहाँका स्थानीय बासिन्दाहरूको शिक्षा, स्वास्थ्य, जीविकोपार्जन अवस्था लगायत विभिन्न पक्षबारे सिक्ने अवसर पाइयो । भौगोलिक कठिनाईहरू अनेक छन् तापनि काप्राङ गाउँ सुन्दर छ र यहाँका बासिन्दाहरूको मन विशाल छ । काप्राङ गाउँ र गाउँबासीसँग मोहित हुन पुगेकि छु । काप्राङ बसाईबाट पाएको अनुभवलाई यो सङ्क्षिप्त लेख मार्फत परिचय दिन चाहन्छु ।

काठमाडौंको पुरानो बसपार्कबाट फर्पीङ, दक्षिणकाली, छैमले हुँदै सडकमार्गबाट ३४ किलोमिटरको दुरी पार गरेर बसबाट झरेपछि लगभग ४० मिनेटको पैदलयात्रामा काप्राङ गाउँ पुग्न सकिन्छ । मुलुक नयाँ संरचनामा गएपछि स्थापना भएको स्थानीय सरकारको अगुवाईमा गाउँ पुग्ने कच्ची सडक बनाइएको छ । यस कारण हिउँदको समयमा भने साना गाडीहरू गाउँ पुर्याउन सकिने अवस्था छ । भौगोलिक रुपमा काप्राङ पहाडी भूभागमा पर्दछ । उत्तरमा खावाडाँडा, दक्षिणमा दोभान, पूर्वतर्फ ललितपुर जिल्ला (बागमती नदी) र पश्चिमतर्फ पाण्डेटोलसँग सिमाना जोडिएको काप्राङ गाउँमा पहिलोपल्ट पुग्दा त ‘कस्तो ठाउँमा आइयो’ भन्ने नै लागेको थियो । मास्तिर हेर्दा विरक्त लाग्दा पहाडका भित्ता, तलतिर ‘सभ्य सहर’काठमाडौंको फोहोर बोक्दै बगेको बागमतीबाट आउने दुर्गन्ध । यसले काप्राङबारे नकारात्मक भाव पनि पैदा गर्दथ्यो । तर यसमा काप्राङको के नै दोष छ र !  बस्दै जाँदा गाउँको प्राकृतिक सुन्दरता र गाउँबासीको हार्दिकतासहितको व्यवहारबाट भने जोकोही पनि प्रभावित हुने रहेछन् । म पनि धेरै प्रभावित भएँ ।

जता हेर्यो पहाड छ । समथर जमिन कतै छैन । खेती गर्नका लागि बनाइएका स–साना कान्लाहरु र ढुङ्गाको थुप्रो माथि कति उब्जाउ हुन्छ होला र ! यहाँका मानिसहरू कसरी गुजारा गर्छन् होलान् ! मनमनै सोच्थेँ ।

गाउँ पुगेपछि सुरुसुरुमा बाहिरी संसारसँग काप्राङबासीको धेरै हेलमेल नभएको होकि भन्ने लाग्यो । तथ्याङ्क सङ्कलनको क्रममा टोलमा जाँदा केही घरका मानिसहरू हामीलाई देखेर हत्तपत्त ढोका लगाइ भित्र पसे । हामीलाई अनौठो लाग्यो र यसबारे सोधखोज गर्यौँ । केहीले दश वर्षको जनयुद्धबाट काप्राङ पनि प्रभावित भएको बताए । केही मानिसहरू ‘अगुल्टो ले हानेको कुकुर बिजुली चम्कदा तर्संछ’भनेझैँ बाहिरका मानिसहरू देख्दा अझै पनि ससंकित हुने गर्छन् भन्ने तर्क पनि गरे । तर यो तर्क गलत पनि हुन सक्छ । हिजोआज धेरै मानिसहरू गाउँघरमा अनुसन्धानको नाममा तथ्याङ्क सङ्कलन गर्न आउने र त्यसपछि फर्केरै नआउने गर्छन् । यसले गर्दा उनीहरूले हामीलाई पनि तेस्तै सम्झेर घरभित्र पसेका पनि हुन सक्छ । हाम्रो उद्देश्य समुदायसँग स्वास्थ्यसम्बन्धी छलफल गर्नु थियो । यस सम्बन्धमा गाउँपालिका र वडा कार्यालयसँग पहिले नै कुराकानी भइसकेको थियो र वडा कार्यालयबाट स्वीकृति पाउनुका साथै वडाअध्यक्षज्यूले सहयोग गर्ने वचन दिनु भएको थियो । यसबारे बताएपछि स्थानीय बासिन्दाहरु हामीसँग छलफलमा भाग लिन सहमत भए र खुसीसाथ सहभागी पनि भए ।

समुदायसँग अन्तरक्रिया गर्दै जाँदा यस गाउँको प्राकृतिक अवस्था र मानिसको जीवनशैलीबारे बुझ्न पाएँ । लगभग ११५ घरधुरी रहेको यस गाउँमा तामाङ जातिको बाहुल्यता छ । आफ्नै उत्पादनबाट गाउँमा कसैलाई पनि वर्षभरी खान पुग्ने स्थिति छैन । खेतीपातीबाट हुने उत्पादन र ज्याला मजदुरी गरेबापत प्राप्त आम्दानीबाट प्राय मानिसहरूले जीवन चलाई रहेका छन् । अशिक्षा, गरिबी र अभाव यहाँका मानिसहरूको प्रमुख समस्या बनेको छ । उनीहरूलाई दैनिक गुजारा गर्न मुस्किल छ । काठमाडौंसँग जोडिएको जिल्लाको एक हिस्सा भए तापनि लाग्छ देशमा भइैरहेको उतारचढावबाट काप्राङ पूर्ण बेखबर छ । गाउँमा सूचनाको अभाव छ ।

यहाँ खानेपानीको समस्या छ । पिउने पानीको जोह गर्नमै घरका महिलाले प्रत्येक दिन आधाभन्दा बढी समय बिताउन बाध्य छन् । यहाँ उच्च शिक्षाको अवसरको अभाव छ । नजिकै रहेको भैरव आधारभूत विद्यालयमा कक्षा आठसम्म मात्र पढाइ हुनेहुँदा थप अध्ययनका लागि कम्तीमा दुईघण्टा हिँडेर छिमेकी जिल्ला ललितपुर जानुपर्ने स्थिति छ, जसका कारण आधारभूत शिक्षा पश्चात् धेरैले पढाई छोड्ने गरेको भेटियो । जीविकोपार्जनका लागि परिवारका सबै सदस्यहरू आयआर्जनमा जुट्न बाध्य हुनुपर्ने अवस्थामा दुईघण्टाको बाटो हिँडेर पढ्न जानु सम्भव पनि हुँदैन । त्यो समय ज्याला मजदुरी गरे बिहान बेलुकीको छाक टार्न पाईन्छ भन्छन् उनीहरु ।

जनस्वास्थ्यको दृष्टिबाट हेर्दा यहाँ स्वास्थ्यका धेरै समस्या छन् । धेरैमा उच्च रक्तचाप, मुटु, कलेजो, र मृगौलासम्बन्धी नसर्ने रोगहरू भेटिएका छन् । पानीको अभावका कारण सरसफाईको कमीले गर्दा सर्ने रोगहरूको सङ्क्रमणको जोखिम पनि उच्च छ । सरसफाईको कमीकै कारण झाडापखाला, आउँ, रुघाखोकीका साथै छालासम्बन्धी रोग भेटिएको छ । नेपालको स्वास्थ्य नीति, २०१९ मा हरेक नागरिकले कम्तीमा ३० मिनेटको दुरीमा आधारभूत स्वास्थ्य सेवा लिन पाउने अधिकार उल्लेख भए तापनि भौगोलिक विकटताका कारण यस गाउँबाट स्वास्थ्यचौकी पुग्न हिँडेर कम्तीमा पनि दुई घण्टा लाग्ने देखिन्छ । गर्भजाँच, संस्थागत डेलिभरी र सुत्केरी जाँचका लागि सहजै स्वास्थ्यचौकी पुग्न सक्ने स्थिति छैन । यदि राती कोही बिरामी परेमा समस्या अझै विकराल हुने देखिन्छ । त्यसैले पनि हुन सक्छ कतिपय बिरामीहरू घरेलु उपचार र झारफुकमै सीमित भएका छन् । यसै कारण रोग अझै बल्झदै जाने र समय गुज्रेपछि उपचारको लागि जाँदा उपचार अवधि लामो हुने, खर्च धेरै लाग्ने र कतिले त यसै कारण मृत्यु वरण गर्नुपर्ने स्थिति पनि आउँछ ।

नेपालको संविधान २०७२ को भाग ३ को धारा ३६ मा खाद्यसम्बन्धी हकमा हरेक नागरिकको खाद्यान्नको प्रत्याभूतिको अधिकार उल्लेख छ । तर काप्राङमा उर्वरभूमि कम भएको, सिँचाईको सुविधाको अभाव भएको र खेतीपातीसम्बन्धी प्राविधिक ज्ञान र सीपमा कमी भएको कारण अन्न, तरकारी तथा फलफुल उत्पादन निक्कै कम हुने गर्दछ । गरिबीका कारण धेरैजसोले बेसाएर खान सक्ने अवस्था पनि छैन । पोषणयुक्त खानाको कमीले यहाँका मानिसहरूको, विशेषतः बालबालिकाको पोषणस्तर कमजोर छ । जसले गर्दा उहाँहरूलाई कुपोषण, रक्तअल्पता तथा रतन्धो हुनुका साथै विभिन्न रोगहरूको लाग्नसक्ने सम्भावना उच्च छ । संविधानको धारा ३५ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनी उल्लेख गरिएको छ । यसरी संविधानमा उल्लेखित मौलिक हकबाट काप्राङबासी वञ्चित छन् । राज्यले काप्राङबासीलाई यो हक सुनिश्चित गर्नैपर्छ र यसको लागि तीनै तहका सरकार सक्रिय हुनैपर्छ ।

राजनीतिक अस्थिरता, आकासिएको महंगी, बिचौलियाहरूको मोनोपोली, बढ्दो भ्रस्टाचार जस्ता समस्याहरुका कारण देशको सम्पूर्ण आर्थिक तथा सामाजिक क्षेत्र अस्तव्यस्त हुँदैछ । साथै कोरोनाकाल यता विश्वमा देखिएको आर्थिक मन्दीको पनि नकारात्मक प्रभाव परिरहेको छ । यसले काप्राङबासी पनि प्रभावित भएका छन् । जनताका मुद्दाहरू सरकारको प्राथमिकतामा समेटिन सकेका छैनन् । सामान्यतया हुम्ला, जुम्ला, जाजरकोट, कालीकोट आदि क्षेत्रलाई दुर्गम मानिने गरिन्छ र अभावको उदाहरण दिनुपर्यो भने त्यतैको उदाहरण दिने गरिन्छ । तर अधिकांश सुविधा र अवसर भएको काठमाडौंसँगै जोडिएको काप्राङ पुग्दा कताकता अति दुर्गम गाउँमा पुगेको जस्तो लाग्छ । यसकारण काप्राङ साँच्चै ‘बत्ति मुनिको अध्याँरो’ हो कि भन्ने पनि लाग्दछ । 

जसरी कालो बादलमा कञ्चन चाँदीको घेरा देखिन्छ, त्यसरी नै विभिन्न समस्या र अभावका बाबजुद काप्राङको समग्र विकासका लागि सम्भावना र अवसरहरू पनि पर्याप्त छन् । सबैभन्दा महत्वपूर्ण कुरा यहाँका बासिन्दाहरू मेहनती छन्, उनीहरूमा आफ्नो र आफ्नो समुदायको उन्नतीको लागि काम गर्ने चाहना छ । विभिन्न समूह र टोलमा अन्तरक्रिया गर्ने क्रममा हामीले समुदायको यो प्रवल चाहना बुझ्न पायौँ । काप्राङ प्राकृतिक स्रोतका हिसाबले भरिपूर्ण छ । खोल्साको पानीलाई संरक्षण गरी सुरक्षित ढंगले खानेपानीको व्यवस्था गर्न सकिने सम्भावना छ । अर्को विकल्पको रुपमा आकाशेपानी सङ्कलन गरी पानी उपलब्ध गराउन सकिन्छ । वरपरका गाउँहरूमा यो प्रविधिको सफल प्रयोग भइसकेको छ । यहाँका जङ्गलमा विभिन्न प्रकारका जडिबुटीका भण्डार छन् । दशकौँदेखि विभिन्न जडीवुटीको प्रयोग गरी रोगको रोकथाम र उपचार गर्ने अभ्यास पनि भेटिएको छ । यसलाई सुधार गरी अझै विस्तार गर्नुपर्ने आवश्यकता छ । कृषिमा आधुनिकीकरण गरी उत्पादन बढाउन सकिन्छ । गाउँमा भुइँघाँस र डालेघाँस पर्याप्त रहेकोले पशुपालनको लागि काप्राङ उपयुक्त स्थान हुन सक्छ । वडा र पालिकातहका जनप्रतिनिधिहरू समुदायको विकासको लागि उत्साहित रहेको पायौँ । तर प्रतिनिधिहरुमा विकास अवधारणा र विकास प्रक्रियाबारे ज्ञान र सीप अभिवृद्धि गर्नुपर्छ । हैनभने चाहना भए तापनि गर्ने कार्य र गर्ने तरिका थाहा नहुँदा अपेक्षित विकासको परिणाम हासिल गर्न सकिँदैन । जनप्रतिनिधिहरूमा विकासको अवधारणा र उपयुक्त प्रक्रियाबारे ज्ञान र सीप अभिवृद्धि गर्ने हो भने काप्राङ लगायत पालिकाका सबै गाउँमा सुविधा र खुसीमा वृद्धि गर्न सकिने कुरा निश्चित छ । गाउँपालिकाबाट दिईने स्वास्थ्य शिक्षा तथा सेवा काप्राङ पुर्याइनुपर्छ । जीवनउपयोगी शिक्षा र सीप सिकाई काप्राङबासीलाई आत्मनिर्भर बनाउन सकिन्छ ।

आफ्नो र आफ्नो गाउँको उन्नतीका लागि काप्राङबासी पनि थप सक्रिय हुनु जरुरी छ । समुदायले पनि आफ्नो गाउँ विकासका लागि आवश्यक पहल गर्न अघि सर्नुपर्ने हुन्छ । उनीहरूले धुम्रपान र मद्यपानको लतलाई न्यून गर्दै स्वस्थ जीवनशैली अपनाउनु पर्नेछ । स्थानीय स्रोत साधनको प्रयोग गरी आयआर्जनमा वृद्धि गर्नुपर्छ । यसको लागि स्थानीय सरकारले काप्राङको समस्या पहिचानगरी विकास निर्माणकार्यलाई प्राथिमकतामा पार्नुपर्छ ।  दिगो विकासका लागि सरकार र समुदाय मिली काम गर्न सकिएमा काप्राङले उन्नतीका हिसाबले ठुलो फड्को मार्न सक्ने कुरामा कुनै शंका छैन ।

लेखक करुणा तिम्सिना नेपाल स्वास्थ्य विज्ञान अध्ययन संस्थान (स्तुपा कलेजमा)
जनस्वास्थ्य विषयमा अध्ययनरत विद्यार्थी हुन्

करुणा तिम्सिना
+ posts

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here

सम्वन्धित सामग्री