spot_img

जलन रोकथाम तथा प्राथमिक उपचार तालिम

‘जलन’ विश्वव्यापी रुपमा जनस्वास्थ्यसम्बन्धी एक प्रमुख सवाल बन्दै गएको छ । मानिसको शरीरको कुनै पनि भागमा आगो, तातो झोल पदार्थ, तातो वस्तु, करेन्ट र रसायनिक पदार्थ सम्पर्कमा आएर जलन हुने गर्दछ । यसले मानिसलाई शारीरिक, मानसिक एवं सामाजिक रुपमा समेत नकारात्मक असर गर्दछ । जलनकै कारण विश्वमा वर्षेनी झण्डै २ लाखभन्दा बढी मानिसको ज्यान गुम्ने गरेको छ । नेपालमा वर्षमा लगभग ६० हजार गम्भीर प्रकृतिका जलनका दुर्घटना हुने र यसकै कारण २२०० जतिले ज्यान गुमाउनु परेको अवस्था छ । सामान्य असावधानी र जानकारीको अभावका कारण जलनको दुर्घटना हुने गरेको देखिन्छ । तर यसको असर भने असामान्य हुने र जलन प्रभावित व्यक्ति तथा परिवारले जीवनभर दुःख कष्ट भोग्नुपर्ने हुन्छ । तसर्थ प्रमुख सवाल भनेको जलन हुनै नदिनु र यदि भईहालेमा तत्कालै सही तरिकाले उपचार गरी यसबाट पर्न सक्ने असरलाई कम गर्नु हो । यसै कुरालाई ध्यानमा राखी हालै शंखरापुर नगरपालिका (साँखु)मा जलन रोकथाम तथा प्राथमिक उपचार तालिम सम्पन्न भएको छ ।  

विश्वका विभिन्न मुलुकहरुमा जलनको गुणात्मक उपचार, पुनर्स्थापना तथा रोकथाम अभियानमा लामो अवधिदेखि सक्रिय अन्तर्राष्ट्रिय संस्था Interburns (इन्टरबर्न्स) र नेपालमा विगत २ वर्षभन्दा बढी अवधिदेखि जलनको उपचारमा सङ्लग्न सुषमा कोइराला मेमोरियल अस्पतालको संयुक्त आयोजनामा यही भाद्र १९ गते (५ सेप्टेम्बर) शंखरापुर नगरपालिका (साँखु)का ९ वटै वडाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि जलनको प्राथमिक उपचार र समुदाय तहमा सेवारत महिला स्वास्थ्य स्वयंसेविकाहरुको लागि जलन रोकथाम विषयक तालिम कार्यक्रम सम्पन्न भएको छ । तालिम कार्यक्रमको प्रारम्भमा शंखरापुर नगरपालिकामा जलन लगायत जनस्वास्थ्यसम्बन्धी सञ्चालित विभिन्न क्रियाकलापबारे नगरपालिकाका जनस्वास्थ्य अधिकृत श्री विष्णु प्रसाद चापागाइँले प्रकाश पार्नु भएको थियो ।

महिला स्वास्थ्य स्वयंसेविकाहरू सङ्लग्न जलन रोकथाम तालिम कार्यक्रममा जलनको परिभाषा, जलनका कारण तथा असरहरु, जलन रोकथामका उपाय तथा जलन रोकथामका लागि समुदाय तहमा गर्नुपर्ने कार्यहरुबारे छलफल तथा अभ्यासहरु गरिएका थिए । शंखरापूर नगरपालिकाका विभिन्न वडाहरुमा भएका जलनका घटनाहरु र त्यसले जलन प्रभावित व्यक्ति, तिनका परिवार र समुदाय तहमा पारेका असरहरुबारे अन्तरक्रिया गरिएको थियो । यस क्रममा जलनका घटनाहरुमा आधारित भई त्यसको कारण र असरहरुलाई मसिनोसँग केलाउने कार्य गरिएको थियो । कार्यक्रममा सहभागी महिला स्वयंसेविकाहरुले जलनसम्बन्धी आफूले देखे–भोगेका अनुभव आदान–प्रदान गरेका थिए । जलनका सम्बन्धमा समाजमा स्थापित विभिन्न प्रकारका अन्धविश्वासहरुबारे चर्चा गर्नुका साथै जलन उपचारका लागि गाउँघरमा गरिने कतिपय गलत अभ्यासहरुबारे छलफल गरिएको थियो । यदि जलनका घटना भएमा तत्कालै के गर्ने र बिरामीलाई कसरी नजिकको स्वास्थ्य संस्थामा सुरक्षित तरिकाले पुर्याउने भन्नेबारे सिकाइएको थियो ।

नगरपालिकाका विभिन्न वडाका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको जलनको प्राथमिक उपचार तालिम कार्यक्रममा जलन भई उपचारको लागि स्वास्थ्य संस्थामा आईपुगेका बिरामीहरुलाई दिनुपर्ने प्राथमिक उपचारसम्बन्धी विषयहरु समावेस गरिएका थिए । कार्यक्रमका सहभागीहरुबिच जलनको परिभाषा, यसका कारणहरु र जलनका बिरामीहरुलाई दिइने प्राथमिक उपचार सेवाबारे विस्तृत छलफल तथा अभ्यास गरिएका थिए । यस क्रममा स्वास्थ्य संस्थामा बिरामी आईपुग्ने बित्तिकै उसको शारीरिक अवस्थाको पहिचान गर्ने, जलनको क्षेत्रफल र गहिराई मापन गर्ने र जलनको गम्भीरताबारे थाहा पाउने तरिका सिकाइएको थियो । त्यस्तै जलनको घाउमा गरिने ड्रेसिङ्को महत्वबारे बुझाउनुका साथै उचित तरिकाले गरिने ड्रेसिङ् प्रक्रियाको व्यवहारिक अभ्यास पनि गराइएको थियो ।

हाम्रो समाजमा जलनका सम्बन्धमा जानकारीको अभाव देखिन्छ । अझै पनि यससम्बन्धी विभिन्नखाले अन्धविश्वास रहेको छ । चेतनाको अभावका कारण जलनको बिरामीलाई पानी खुवाउनु हुन्न भन्ने गलत धारणा अझै पनि धेरैमा पाइन्छ । यसबारे तालिम कार्यक्रमका प्रशिक्षक डा. रोजिना शिल्पकार बताउनु हुन्छ, “अधिकांश जलनका बिरामीहरुलाई पानी नखुवाई अस्पताल ल्याउने गरिन्छ । यसै कारण जलनको उपचार ढिलो हुनुका साथै कतिले त ज्यानै गुमाएका पनि छन् । वास्तवमा जलनका बिरामीहरुलाई प्रसस्त पानी खुवाउनुपर्छ ।” तसर्थ तालिम कार्यक्रममा जलनका बिरामीहरुको शरीरमा रहेको पानीको अवस्था मापन गर्ने विधि र उनीहरुलाई खुवाउनुपर्ने पानीको मात्राबारे विस्तृत रुपमा प्रशिक्षण गरिएको थियो ।

जलन रोकथाम तालिमलाई इन्टरबर्न्स संस्थाका प्रनितिधिहरु अनिल धिताल र डा. कमल फुयालले सहजीकरण गर्नु भएको थियो । त्यस्तै स्वास्थ्यकर्मीहरुको लागि सञ्चालित जलनको प्राथमिक उपचार तालिम कार्यक्रमलाई सुषमा कोइराला मेमोरियल अस्पतालका डा. रोजिना शिल्पकार, जनस्वास्थ्यविद् पुण्यश्वरी सुवाल, डाइटिसियन अनु मौर्य, शान्ता महरा, अनुजा विष्ट र सिर्जना थापाले सहजीकरण गर्नु भएको थियो ।

यस तालिम कार्यक्रमबाट जलन विषयबारे विस्तृत रुपमा जानकारी पाएको र यसबाट हुन सक्ने जनधनको क्षतीलाई न्यूनिकरण गर्न जलन रोकथाम अभियानमा सक्रिय भएर लाग्ने कुरा महिला स्वास्थ्य स्वयंसेविकाहरुले बताएका छन् । यसबारे सहभागीहरुले सबैभन्दा पहिला आफ्नो परिवार र त्यसपछि टोलछिमेकलाई जलनबारे सचेत गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । जलनबारे कुनै औपचारिक कार्यक्रममा मात्र नभई मेलापात, जात्रामात्रा, पानी–पँधेरो लगायत अन्य अनौपचारिक भेटघाटमा जलनबारे कुराकानी गर्नुका साथै  समुदायमा सञ्चालन हुने कुनै पनि वैठकमा जलन विषयमाथि छलफल गर्नुपर्ने बिचार व्यक्त गरेका छन् । जलन रोकथामको लागि प्रत्येक परिवारका कम्तिमा पनि १ जनालाई जलनबारे विस्तृत जानकारी दिनुपर्ने महसुस भएको कुरा सहभागीहरु बताउँछन् ।

तालिममा सहभागी स्वास्थ्यकर्मीहरुमध्ये अधिकांशले जलनबारे पहिलो पटक धेरै कुरा सिक्न पाएको बताएका छन् । विशेषतः जलनको घाउमा उचित तरिकाले गर्नुपर्ने ड्रेसिङ विधिबारे धेरै कुरा सिक्न पाएको, कस्तो अवस्थाका बिरामीलाई थप उपचारको लागि प्रेषण गर्नुपर्ने र कुन तरिकाले अस्पताल पठाउने भन्नेबारे जानकारी पाएको कुरा व्यक्त गरेका छन् । सहभागीहरुले तालिम प्रक्रिया अत्यन्तै सहभागितामूलक भएकोले सहज र सरल वातावरणमा रोचक तरिकाले सिक्ने अवसर पाएको बताएका छन् । तालिमको विषयवस्तु अत्यन्तै महत्वपूर्ण भएकोले शंखरापुर नगरपालिकाका स्वास्थ्य संस्थाका सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई यो तालिम दिनुपर्ने सुझाव दिएका छन् ।

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका डा. माधव प्रसाद लम्सालले तालिमको सफलताको लागि शुभकामना पठाउनु भएको थियो । तालिम कार्यक्रमको अन्त्यमा सुषमा कोइराला मेमोरियल अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष विक्रम भण्डारीले तालिमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सहयोग गर्ने सम्पूर्ण सहजकर्ताहरु, व्यवस्थापक तथा सहभागी मित्रहरुलाई हार्दिक धन्यवाद दिनुका साथै जलन रोकथाम तथा प्राथमिक उपचार कार्यलाई प्रभावकारी बनाउन यस्ता तालिम कार्यक्रम सञ्चालन गर्दै जाने र यदि नेपालका कुनै पनि गाउँ/नगरपालिकाबाट अनुरोध आएमा तालिम कार्यक्रम सहजीकरणका लागि सहयोग गर्ने कुरा व्यक्त गर्नुभयो ।

तालिम कार्यक्रमका केही झलकहरु

 

विकासबहस संवाददता
+ posts

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here

सम्वन्धित सामग्री