spot_img

जलनमा परेका वृद्धवृद्धालाई आवश्यक आहार

शरीरको कुनै भाग जलिसकेपछि उक्त भागको उपचार तथा पुनर्निर्माणमा पोषणको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ । उमेरका हिसाबले ६० वर्ष नाघेका वृद्धवृद्धाहरुका हकमा त जलनको उपचार तथा जलेको भागको पुनर्निर्माणमा विशेष प्रकारको पोषण र स्याहारको आवश्यकता पर्दछ । यो उमेर समूहका बिरामीको पाचन शक्ति कमजोर भएको हुन्छ । उनीहरुलाई सामान्य मानिसभन्दा कम भोक लाग्ने, उमेरका कारण दाँतमा आएको कमजोरीका कारण खाना राम्रोसँग चपाउन सक्दैनन् । तसर्थ, उनीहरुको लागि वृद्धवृद्धामैत्री पोषणको आवश्यकता पर्दछ । वृद्ध अवस्थामा जलन हुँदा उनीहरुमा खानाप्रति अरुची देखिनु स्वाभाविक नै हो । यस्तो अवस्थालाई ध्यानमा राखेर उनीहरुको शरीरको लागि आवश्यक पर्ने, उनीहरुलाई रुची लाग्ने, उनीहरुले सजिलै चपाउन र पचाउन सक्ने खानका सम्बन्धमा सचेत रहनुपर्छ । त्यसैले सही र प्रभावकारी उपचारका लागि जलनमा परेका वृद्धवृद्धालाई खाना दिने मानिसको भूमिका महत्वपूर्ण हुन्छ । जलनमा परेका वृद्धवृद्धालाई कस्तो आहारको आवश्यकता पर्दछ र उनीहरुलाई कसरी खुवाउने भन्ने विषयमा यस लेख केन्द्रित हुनेछ ।

यो उमेर समूहका व्यक्तिको पोषण आवश्यकता सामान्य मानिसको लागिभन्दा कम भैसकेको हुन्छ । तसर्थ उनीहरुलाई कुनकुन पौष्टिक तत्व कति मात्रामा कसरी दिने भन्ने जानकारी हुन जरुरी छ । बिरामी भन्दैमा वा जलनमा परेका हुन् भन्दैमा आवश्यकताभन्दा बढी वा कम खाना दिनु हुँदैन । उनीहरुको लागि खानाको व्यवस्थापन गर्ने व्यक्तिले सवैभन्दा पहिला त कुन खानमा कुन कुन पौष्टिक तत्व पाइन्छ भन्ने कुरा जान्नु पर्दछ । सोहीअनुसार खानाको मात्रा मिलाएर दिनु पर्दछ । मानिसलाई चाहिने विभिन्न प्रकारका पौष्टिक तत्व, पौष्टिक तत्वको कार्य र त्यसको स्रोतको बारेमा जानकारी तलको तालिकामा दिइएको छ  ।  

जलनमा परेका वृद्धवृद्धाले कस्ता कुराहरु खानु हुन्छ र के के खानु हुन्न भन्नेबारे जानकारी हुनु पर्दछ । सोहीअनुसार उनीहरुको लागि खानेकुराको व्यवस्था गर्नु पर्दछ । जलनमा परेका बिरामीहरुको लागि बढी प्रोटिनयूक्त खानेकुरा दिनु पर्दछ ।

जलनमा परेका बिरामीहरुले खान मिल्ने खानेकुराहरु :  दाल, गेडागुडी, फलफूल, फलफूलको जुस, मासु, दही, सूप, दूध, चिज, नौनी, पाउरोटी, बदाम, काजु, किशमिश आदि ।

जलनमा परेका बिरामीहरुले खान नहुने खानेकुराहरु :  चिल्लो, पिरो, मसलेदार खाना, चिया, कफी, कोल्डड्रिंक, प्याकेट, क्यान वा फ्रोजन खानेकुरा, शरीरलाई गर्मी गर्ने खानेकुरा जस्तैः मह, आँप, गहतको दाल, तयारी अचार आदि, काँचो मासु वा काँचो तरकारी पनि यो अवस्थामा दिनु हुँदैन ।

जलनमा परेका बिरामीलाई खान तयार गर्दा ध्यान दिनुपर्ने कुराहरु :

(क) बिरामीलाई कुनै खानासँग एलर्जी छ कि छैन भन्नेबारे पहिला नै थाहा पाउनुपर्छ । यदि छ भने, खानामा उक्त खानेकुरा       समावेश गर्नु हुँदैन ।
(ख) बिरामीलाई थोरै थोरै, तर पटक-पटक खाना दिइरहनु पर्दछ । दिउँसोको खानाभन्दा साँझको खाना केही हल्का हुनुपर्छ ।
(ग) वृद्धवृद्धाको दाँत कमजोर हुने र उनीहरुको पाचनशक्तिमा केही ह्रास आउने हुँदा खाना नरम, सजिलै चपाउन तथा पचाउन सक्ने       खालको हुनुपर्छ । तारेको खाना दिनुहुँदैन । पचाउन गाह्रो हुने भएकोले खानामा चिल्लो पदार्थ कम प्रयोग गर्नुपर्छ ।
(घ) फाइबर पाउने खाना जस्तै सागपात, फलफूल बढी सेवन गराउनु पर्छ । यसले कब्जियतको समस्या हुन दिँदैन ।
(ङ) जलन भएको अवस्थामा धेरैलाई अरुचिको समस्या हुन्छ । त्यसैले, बिरामीलाई नयाँ खानेकुरा दिनुभन्दा बिरामीले सँधै खाने      गरेको खानालाई पोसिलो बनाएर दिनुपर्छ । नयाँ स्वाद बिरामीलाई स्वीकार्य नहुन सक्छ । साथै खानालाई हेर्दा पनि खाउँखाउँ      लाग्ने गरी दिनुपर्छ ।
(च) सुत्नु अगाडि एक गिलास मनतातो दूध वा सूप दिएमा यसले बिरामीलाई राती राम्रोसँग निदाउन मद्दत गर्दछ ।
(छ) खानामा झोल पदार्थको मात्रा बढाउनु पर्दछ र झोलीलो खाना दिनुपर्छ, जसले पाचन प्रणालीलाई सुचारु गर्छ ।
(ज) धेरै नुन, चिनी, गुलियो, चिल्लो तथा मसलेदार खाना खान दिनुहुँदैन ।
(झ) प्रशस्त पानीको सेवन गराउनु पर्छ जसले शरीरमा पानीको मात्रामा कमी हुन दिँदैन ।

लेखिका अनु मौर्य सुषमा कोइराला मेमोरियल अस्पताल, साँखुमा डाइटिसियनको रुपमा कार्यरत हुनुहुन्छ

अनु मौर्य
+ posts

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here

सम्वन्धित सामग्री