कुनै पनि राष्ट्रको विकासमा पोषणले महत्वपूर्ण भूमिका खेल्छ भन्ने कुरालाई विभिन्न अध्ययन तथा अभ्यासहरूले नै प्रमाणित गरिसकेका छन् । तसर्थ यो व्यक्तिगत स्वास्थ्यको सरोकारको विषय मात्र नभै परिवार, समाज हुँदै समग्र देशको समृद्धि र प्रगतिको आधारशिला पनि हो । मातृ तथा बाल्यकालीन पोषण यस सन्दर्भमा अत्यन्त महत्वपूर्ण हुन्छ किनभने यसले वर्तमानको मात्र नभै भावी पुस्ताको स्वास्थ्य र कल्याणलाई समेत प्रत्याभुत गर्दछ । त्यसैले परिवार, समाज हुँदै स्थानीय तहदेखि समग्र देशको नीति निर्माणको तहसम्मका सबैलार्ई मातृ तथा बाल्यकालीन पोषण र देश विकासबीचको घनिष्ट सम्वन्ध र यसबाट पर्ने प्रभावका बारेमा जानकारी हुनु आवश्यक छ । पोषण एक समग्र विकासको बहुआयामिक पक्षहरूलाई असर पार्न सक्ने संवेदनशील महत्वपूर्ण सवाल हो र यसको लागि सबै सरोकारवालाहरू बेलैमा गम्भीर बन्नु आवश्यक छ भन्ने कुरा यस लेख मार्फत उजागर गर्न खोजिएको छ ।
कुनै पनि व्यक्तिको पोषण र जीवनको यात्रा बच्चा जन्मनुअघि नै आमाको स्वास्थ्य र पोषणको अवस्थाबाट शुरु हुन्छ । मातृपोषण भनेको दोश्रो पुस्ताको स्वास्थ्यको आधार हो । गर्भावस्थाको पोषणले भ्रूणको वृद्धि तथा विकासको लागि आवश्यक पोषक तत्वहरू उपलव्ध गराउँदछ । फोलिक एसिड, आइरन, क्याल्सियम र प्रोटिन जस्ता पोषक तत्वहरूको अभावले बच्चा कमतौलको जन्मन सक्छ, जुन भविश्यमा उसलार्ई पर्न सक्ने विभिन्न स्वास्थ्य समस्याहरूसँग सम्बन्धित हुन्छ ।
त्यसैगरी पर्याप्त मातृपोषणले बच्चा जन्माउने क्रममा जटिलताहरूको जोखिमलाई कम गर्दछ, जसले गर्दा मातृ मृत्युदर कम हुन्छ । त्यसैले स्वस्थ आमाले स्वस्थ बच्चा जन्माउने सम्भावना बढी हुन्छ । यसरी गर्भावस्था र प्रारम्भिक बाल्यकालीन पोषणले बच्चाको मस्तिष्कको विकासमा महत्वपूर्ण योगदान गर्दछ । विश्व स्वास्थ्य संगठन लगायत अन्य विभिन्न अध्यनहरूबाट प्रमाणित भएअनुसार गर्भावस्थाको ९ महिना अवधिको २७० दिन र बच्चा जन्मिएपछि २ वर्ष पुरा नभईन्जेलसम्मको ७३० दिनको अवधिमा शिशुले प्राप्त गर्ने पोषणले उसको शारीरिक विकासको बलियो आधार तय हुन्छ भने मानसिक विकास ८० प्रतिशत हुन्छ ।
यसरी शारीरिक रुपमा स्वस्थ र मानसिक रुपमा सवल वालबालिका नै भविष्यका सक्षम र उत्पादनशील वयस्क बन्दछन्, जसले राष्ट्रको कार्यशक्ति र आर्थिक एवम् सामाजिक विकासमा उल्लेखनीय योगदान पुर्याउन सक्छन् । बालअवस्थामा हुने कुपोषणका कारण कमजोर वयस्क निर्माण हुनेहुँदा यसले उत्पादकत्वमा ह्रास ल्याउन सक्छ, साथै यसै कारण स्वास्थ्य सेवाको लागत बढ्न पनि सक्छ । बालबालिका कुपोषित भएमा भविष्यमा उनीहरू कमजोर वयष्क बन्ने सम्भावना अत्यधिक हुन्छ, जसले गरिबी र अल्प विकासको चक्रलाई निरन्तरता दिन्छ । त्यसैले समुदायमा जरा गाढेर बसेको कुपोषणको दुष्चक्रलार्ई तोड्नका लागि राज्यका सम्पूर्ण सरोकारवालाहरुका साथै व्यक्ति, परिवार र समाज पनि सचेत हुनु जरुरी छ । परिवार, समाज र सिङ्गो मुलुकको दीर्घकालीन विकासको लागि यो सचेतना आवश्यक छ । यसरी गर्भावस्थादेखि नै उपयुक्त पोषण दिइने मानव जीवनको शुरुवाती १००० दिनको अवधिलार्ई सुनौला १००० दिन भनेर विश्व स्वास्थ्य संगठनले घोषणा गरेको छ ।
मातृ तथा बाल्यकालीन पोषणको महत्वलार्ई स्वीकार गर्दै सरकार, राष्ट्रसंघीय निकाय र अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्थाहरूद्वारा यो समस्यालाई सम्वोधन गर्न विश्वव्यापी लक्ष तय गरी विभिन्न पहलहरू शुरु गरिएका छन् । यस्तै एउटा मुख्य लक्ष भनेको दिगो विकास लक्ष हो, जसले विशेषगरी शून्य भोकमरीलार्ई लक्षित गरी सबैका लागि, अझ विशेषगरी आमा र बालबालिकाको पोषणमा सुधार गर्ने लक्ष राखेको छ । नेपालमा पनि मातृ तथा बाल्यकालीन पोषणलाई प्रवर्धन गर्नका लागि नेपाल सरकारले बहुक्षेत्रीय पोषण योजना, विद्यालय पोषण कार्यक्रम, लक्षित समूह पोषण कार्यक्रमहरू लागु गरेको छ । त्यसैगरी यूनिसेफ, ‘सुआहारा’ परियोजना आदि मार्फत पनि नेपाल सरकारसँगको समन्वय तथा सहकार्यमा समुदाय स्तरमा एकीकृत पोषण कार्यक्रमहरू संचालन भइरहेका छन् । देशका अधिकांश स्थानीय तहहरूले मातृ तथा बाल्यकालीन पोषण सुधारको लागि आफ्नो नीति तथा कार्यक्रमहरूमा यो विषयलाई प्राथामिकता साथ समेटी उपयूक्त बजेट व्यवस्थापन गरी विभिन्न रचनात्मक क्रियाकलापहरू संचालन गरिरहेका छन् ।
सारमा भन्नुपर्दा मातृ तथा बाल्यकालीन पोषण र राष्ट्रको विकासबीचको सम्बन्ध निर्विवाद छ । आमा र बालबालिकाको स्वास्थ्य र पोषणमा लगानी गर्नु राज्यको दायित्व हो । यो समग्र विकासको लागि अत्यावश्यक आधारशिला पनि हो । सुपोषित आमा र बच्चाले एकातिर सामाजिक, आर्थिक र मानसिक रुपमा सक्षम र उत्पादनशील जनसंख्या निर्माणमा विशेष योगदान गर्न सक्छन् । सुनौला १००० दिनको अवधिमै हुने स्वस्थताको कारण भविश्यमा शारीरिक रुपमा सवल र निरोगी पुस्ता निर्माण हुनेहुँदा परिवार, समाज, स्थानीय तह तथा सिंगो राष्ट्रद्वारा उपचारात्मक सेवाका लागि गर्नुपर्ने अतिरिक्त खर्च कटौती हुनगई यसबाट आर्थिक भार समेत कम हुन जान्छ । अन्ततः पोषणले देशको प्रगति र विकासलाई महत्वपूर्ण योगदान गर्दछ ।
तसर्थ परिवार, समुदाय तथा सरोकारवालाहरू सबै यस्तो महत्वपूर्ण सवालमा गम्भीर हुनु आवश्यक छ । यसका लागि सबैभन्दा पहिला लक्षित वर्गलाई सचेत गराई उनीहरूलाई यसको महत्वबारे महुुसुस गराउनु पर्दछ । जब उनीहरूले यसको महत्व महसुस गर्छन्, पोषणको आवश्यकता पुरा गर्न लक्षित समूह आफै अग्रसर हुनेछन् । विभिन्न अभावबाट गुज्रिएका र सेवाको पहुँचबाट बञ्चितीकरणमा परेका लक्षित वर्गको एकल प्रयास पर्याप्त हुँदैन । त्यसको लागि सरकारले पनि वडा तहदेखि माथिल्लो निकायसम्म सुनौला १००० दिनको अवधिको पोषण सुधारसम्बन्धी लक्षित समूह तथा क्षेत्रहरूलाई मध्यनजर गरी एकीकृत पोषणका क्रियाकलापहरूलाई आफ्ना वार्षिक तथा आवधिक नीति एवम् कार्यक्रमहरूमा नियमित रुपमा समावेश गर्दै त्यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने हो भने शारीरिक र मानसिक रुपमा स्वस्थ, सवल र सक्षम भावी पुस्ता निर्माण गर्न सकिन्छ । त्यस्तो स्वस्थ र सवल पुस्ताबाटै गाउँ, समाज र सिङ्गो मुलुक हाँक्न सक्ने नेता जन्माउन सकिन्छ । ती स्वस्थ र सवल पुस्ताबाट कुशल योजनाविद्, सफल व्यापारी, दक्ष प्राविधिक र अन्य सक्षम मानवस्रोत तयार पार्न सकिन्छ । यसरी नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्न सक्ने सक्षम जनशक्ति उत्पादन गर्न सकिन्छ । तबमात्र मुलुकको बृहत्तर विकासमा महत्वपूर्ण योगदान पुग्नेछ । तसर्थ बाल्यकालीन पोषण र मुलुकको समग्र विकासबीच अन्योन्याश्रीत सम्बन्ध रहेको कुरालाई सबैले मनन गरौँ र यसको लागि सहकार्य गरौँ ।
लेखक यम जिसी विगतमा यू.एस.ए.आइ.डी./सुआहारा कार्यक्रममा एक दशक सक्रिय हुनुहुन्थ्यो





यो क्षेत्र म कलम चलाएर सहि र उपयुक्त सन्देश प्रवाह गरेको मा धन्यबाद । सधै यी हातहरु अगाडी बढी रहुन ।
आहा ! कति मननयोग्य बिचार दाइ ।