परिचय
आयुको विज्ञानलाई आयुर्वेद भनिन्छ । आयुर्वेदलाई पुरातन चिकित्सा पद्धतिका रूपमा चिनिन्छ । आयुर्वेदका धेरै आयामहरू छन्, जसको बृहत अध्ययन ओझेलमा परेका छन् । आयुर्वेदको उद्देश्य ‘स्वस्थ व्यक्तिको स्वास्थ्य रक्षा गर्नु र रोगी व्यक्तिको रोग शमन गर्नु’ हो । स्वस्थ रहनको लागि आहारको प्रमुख भूमिका हुन्छ र रोगीको विकार शान्त गर्न पनि आहारको महत्वपूर्ण भूमिका हुन्छ । शरीर आहारले बन्दछ । हामीले खाएका खानेकुरा शरीरका लागि लाभदायक छन् कि छैनन् ? आहार स्वयंमा हित वा अहित गुण–धर्म भएका हुन्छन् कि हामीले खाने तरिका नजानेर आहारले हामीलाई अहित गर्छन् ? के सबै किसिमका खानेकुराले शरीरलाई पोषण दिन्छन् ? पोषणयुक्त खानेकुरा खाँदा पनि शरीरमा रोग किन लाग्दछ ? यी सबै जिज्ञासाको समाधानको लागि आहार, त्यसको गुण–धर्म, मात्रा, खाना खाने समय आदिको ज्ञान अपरिहार्य हुन्छ ।
आहारको महत्व
आहारले सम्पूर्ण प्राणीहरूको प्राण धारण गर्छ, शरीरको पोषण गर्छ, शरीरको वर्ण–आभा राम्रो बनाउछ, बल बढाउँछ, मानसिक सन्तुलन पनि बनाउछ र बुद्धि तथा धारणशक्ति पनि बढाउँछ । स्वस्थ शरीरको कारण पनि आहार हो र रोगको कारण पनि आहार नै हो ।
हितकर र अहितकर आहार
आयुर्वेद शास्त्रमा भनिएको छ, उचित प्रयोगद्वारा विषले पनि औषधीको काम गर्छ तर अनुचित प्रयोगद्वारा गुणवान् औषधी पनि विषवत् हुन सक्छ । यस संसारमा उपलब्ध द्रव्यहरू हित र अहितकर दुवै हुन्छन् तर कुनै पनि द्रव्यको हितत्व तथा अहितत्व त्यस द्रव्यमा आश्रित गुण – धर्म तथा त्यसको मात्रा आदिमा पनि भर पर्छ । जुन आहारले शरीरको पोषण गर्छ, शरीरमा भएको असन्तुलनलाई हटाउँछ र शरीरका प्रत्येक क्रियाहरूलाई सन्तुलित बनाउछ त्यसलाई हितकर आहार भनिन्छ । त्यसका साथै हितकर आहार शरीरको वृद्धि तथा विकासको कारक हुन्छ र अहितक र आहार रोग उत्पत्तिको कारक हुन्छ ।
नित्य सेवनीय आहार
“षष्टिकाञ्छालिमुद्गांश्च सैन्धवामलके यवान् ।
आन्तरीक्षं पयः सर्पिर्जाङ्गलं मधु चाभ्यसेत ।।
तच्च नित्यं प्रयुञ्जीत स्वास्थ्यं येनानुवर्तते ।
अजातानां विकाराणामनुत्पत्तिकरं च यत् ।।”
हितकर आहार अन्तर्गत शास्त्रमा केही नित्य सेवनीय आहारहरूको वर्णन गरिएको छ । अर्थात् यी आहारहरू दिन–दिनै सेवन गर्न मिल्ने हुन्छन् । साठी दिनमा पाक्ने चामल, मुङको दाल, सिँधे नुन, अमला, जौ, आकाशबाट परेको पानी, गाईको दूध, गाईको घ्यू, जङ्गली पशुपक्षीको मासुको रस र मह । यी आहारहरू नित्य प्रयोग गर्नाले स्वास्थ्य प्रवद्र्धन हुन्छ र शरीरमा विकारहरू उत्पन्न हुँदैनन् । आहारको हितत्व र अहितत्व विभिन्न कुराहरूमा निर्भर हुन्छन्, जस्तै मात्रा, काल, अवस्था, आदि ।
- आहार मात्रा : मुङको दाल दिनदिनै खान मिल्ने आहार अन्तर्गत पर्छ जुन अत्यन्तै पौष्टिक हुन्छ र यो पच्न पनि सजिलो हुन्छ । तर त्यही दाल मात्रा भन्दा धेरै खाँदा शरीरको लागि अपथ्य हुन्छ ।
- काल : यहाँ काल भन्नाले समय बुझिन्छ । आकाशबाट परेको पानी हितकर मानिन्छ । तर वर्षा ऋतुमा धेरै पानी पर्नाले पानीमा अरु फोहोरहरू पनि मिसिने हुँदा त्यही पानी अहितकर हुन्छ ।
- खाना बनाउने तरिका : साठी दिनमा पाक्ने चामल पच्न सजिलो हुन्छ र रोगी व्यक्तिहरूका लागि पनि हितकर मानिन्छ तर त्यही चामल राम्रोसँग नपकाई खाँदा अहितकर हुन्छ ।
- खाना खाने व्यक्तिको अवस्था : गाईको दूध र घ्यू अमृत समान मानिन्छ । तर कतिपय रोगमा जस्तै ज्वरो आएको बेलामा दूध र घ्यू पच्न नसक्ने हुनाले अहितकर हुन्छ ।

विरुद्ध आहार
तरिका नमिलाई खाँदा जुन आहारले शरीरका स्वाभाविक क्रियाहरूको सन्तुलन बिगार्छ, शरीरको विरोधी हुन्छ र विभिन्न रोगहरू उत्पन्न गर्छ, त्यसलाई विरुद्ध आहार भनिन्छ । दहीलाई पौष्टिक आहारहरूमध्येको एक मानिन्छ । तर त्यही दही खान नजान्दा शरीरमा विभिन्न रोगहरू उत्पन्न हुन्छन् र त्यही दही शरीरको लागि विरोधी हुन जान्छ । जस्तै दही खाने केही नियमहरू छन् । दही रातीको समयमा खान हुँदैन । दहीलाई तताएर खान हुँदैन । दहीसँग दूध मिसाएर खान हुँदैन । वसन्त र शरद् ऋतुमा दही सेवनलाई उपयुक्त मानिदैन । तसर्थ उपरोक्त निषेधित तरिकाले र निषेधित कालमा दहीको सेवन गर्नाले शरीरमा पोषण अभाव हुनुका साथै विभिन्न विकारहरू उत्पन्न हुन्छन् ।
यस्ता विभिन्न हितकर आहारहरू छन्, जुन शास्त्रोक्त तरिकाले सेवन गर्दा शरीरलाई पोषण दिन्छ र रोग लाग्न बाट बचाउँछ, तर परस्पर मिसाएर खाँदा रोगहरूको उत्पत्ति हुन्छ । जस्तै मह र घ्यू दिनदिनै खान मिल्ने आहार हुन्, तर त्यही मह र घ्यू बराबर मात्रामा मिसाएर खाँदा विष समान हानीकारक हुन्छ । त्यस्तै दही र माछा सँगै सेवन गर्दा विभिन्न छालाका रोगहरू लाग्न सक्छ ।
निष्कर्ष
“नगरी नगरस्येव रथस्येव रथी यथा ।
स्वशरीरस्य मेधावी कृत्येष्ववहितो भवेत् ।।
जसरी नगर प्रमुखले नगरको रक्षा गर्छ, रथमा आरोहित व्यक्तिले रथको रक्षा गर्छ, त्यसैगरी बुद्धिमान् व्यक्ति सधैँ आफ्नो शरीरको रक्षामा तत्पर र सजग रहनुपर्छ । आहार सेवन गर्दा हितकर आहार सेवन गर्नुपर्छ र त्यसको हितत्व कायम राख्ने मात्रा, काल आदि विभिन्न कुराहरूलाई ध्यानमा राखी आफ्नो शरीरलाई हित गर्ने किसिमले आहारको योजना गर्नुपर्छ ।
“अमन्त्रमक्षरं नास्ति नास्ति मूलमनौषधम् ।
अयोग्यः पुरुषो नास्ति योजकस्तत्र दुर्लभः ।।
अर्थात त्यस्तो कुनै अक्षर छैन जुन मन्त्र हुँदैन, त्यस्तो कुनै मूल छैन जुन औषधी हुँदैन, त्यस्तो कुनै पुरूष छैन जो योग्य हुँदैन । यी सबै योजना गर्ने व्यक्तिमा भर पर्ने कुरा हुन् ।
डा. पुनम नेपाल
आयुर्वेद चिकित्सक
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, दोलखा





Worth reading! Congratulations and thank you for the writing.