जाडोयाममा हेमन्त र शिशिर गरी दुई ऋतुहरु पर्दछन्, अर्थात् मङ्सिर, पुस, माघ र फागुन। हाम्रो शरीरको लागि जाडो, गर्मी र बर्खा गरी तीन अवस्थाहरू हुन्छन् जसमा जाडो अर्थात् यी दुई ऋतुहरु विशेष हुन् । यी ऋतुमा चिसो बढ्दै जाने हुनाले विशेष रूपमा शरीरको स्वास्थ्यको ख्याल राख्नुपर्ने हुन्छ । शीतकालमा चिसो वायुको स्पर्श हुनाले शरीरभित्र हुने अग्नि अर्थात् तातोपन शरीरभित्रै रोकिएर रहन्छ । यसको प्रभाव स्वरूप पाचनशक्तिमा पनि अत्यधिक रुपमा वृद्धि हुने गर्दछ, जसरी तीव्र रुपमा बलेको आगोमा खाना छिटो रूपमा पाक्दछ र निश्चित समयपश्चात् डढ्न थाल्दछ । त्यसै गरी यी ऋतुहरूमा पेट भित्रको जठराग्निलाई पनि समय–समयमा भारी किसिमका भोजनको आवश्यकता पर्दछ । यसले गर्दा यी ऋतुमा शरीरको बल पनि उत्कर्षमा पुगेको हुन्छ । यदि यस्तो किसिमको भोजन मात्राभन्दा थोरै भयो भने शरीरकै धातुहरुलाई नै पचाउन थाल्दछ र शरीरमा वायुको प्रकोप हुन थाल्दछ । बिस्तारै, फलस्वरूप दुखाइसम्बन्धी रोगहरू लाग्ने गर्दछन् । भोजनको मात्राभन्दा बढी खाएमा चाहिँ अजीर्ण भएर अन्य विभिन्न समस्याहरू बढ्न सक्छ । त्यसैले यस्तो ऋतुमा बुद्धिमानीपूर्वक उचित मात्रामा आहारको सेवन गरेर स्वास्थ्यलाई प्रवर्धन गर्नुपर्दछ ।
हालको परिस्थितिलाई लिएर भन्नुपर्दा सहरमा बसोबास गर्ने, विशेष गरी कार्यालयमा कामकाज गर्ने व्यक्तिलाई कम भोजन गरेर हुने समस्याभन्दा बढी भोजन गरेर हुने समस्याहरू बढ्दै गइरहेका छन् । मजदुरी गर्ने र निम्न आय स्तर भएकाहरूलाई भने आवश्यक रूपमा पर्याप्त भोजनको अभावले ऋतुअनुसारको भोजन गर्न सक्दैनन् । अलिकति मात्रै आफ्नो स्वास्थमा सजग भई आहार–विहारमा ध्यान दिने हो भने दैनिक रूपमा गरिने मसिना गल्तीले हुने साना रोगहरू अम्लपित्त(ग्याष्ट्राइटिस), अरुचि, आलस्य, टाउको दुखाईदेखि दीर्घकालीन रूपमा हुने रोगहरू मधुमेह, उच्चरक्तचाप, थाइराइड जन्य रोगहरूबाट सहजै मुक्त रहन सकिन्छ ।
जाडोयाममा के गर्ने त ?
जुनैसुकै ऋतुमा पनि आयुर्वेदशास्त्रमा बताइएका दिनचर्याको नियमित पालना गर्नुपर्दछ । हाल जति पनि जीवनशैलीसम्बन्धी रोगहरू (लाइफस्टाइल डिसअर्डर) देखिने गरेका छन् तिनले सारा विश्वलाई चुनौति दिइरहेका छन् । त्यसका लागि अनेकौ अनुसन्धान र परिक्षणमा गरिने समय र पैसाको एकमात्र विकल्प यो हुनसक्दछ । तर , नेपाल सरकारले र सम्बन्धित निकायले यो विषयलाई जोडदार रूपले न त उठाउन चासो नै दिएको छ न त व्यवस्था नै । नेपालमा भने सरल रूपमा विद्यार्थी, संचारमाध्यम र स्वास्थ्यकर्मी मार्फत जनचेतना जगाउन अत्यन्त जरुरी छ । अब विशेष गरी जाडोयाममा गरिने आहार–विहारको बारेमा विशेष चर्चा गर्नेछु ।
– जाडोयाममा चिल्लो, थोरै अमिलो– नुनिलो रस भएका आहारको सेवन गर्नुपर्छ ।
– दुलोमा, पानीमा र जंगलमा बस्ने जनावरहरूको मासु भुटेर थोरै पुरानो मद्यसँग सेवन गर्न पनि सकिन्छ र मासु नपच्नेहरूले मासुको रसको सेवन गर्न सकिन्छ ।
– शाकाहारीहरुले दूध, दही र अन्य दुग्धनिर्मित परिकारहरुको सेवन गर्न सकिन्छ ।
– चिनी, गुड आदि मिसाइएका आहारहरूको सेवन गर्नुपर्दछ।
– अधिक परिश्रम गर्ने मानिसले तेल, बोसो सहितको मासुको सेवन गर्न सकिन्छ ।
– तातो पानीको सेवन, पाचन प्रणाली कमजोर भएका व्यक्तिले सुकेको अदुवाको धूलो हालेर केही बेर उमालेको पानीको सेवन दिनभर गर्न सकिन्छ ।
– कोठामा हिटर, ए.सि. आदिको प्रयोगभन्दा उपलब्ध भएसम्म घाम ताप्ने, आगो ताप्ने र न्यानो कोठाको उपभोग गर्नुपर्दछ ।
– रुघा, खोकी लागेमा अदुवा, बेसार, तुलसी, जिरा, धनिँया, सौँफ आदिको प्रयोग गर्न सकिन्छ ।
– चिसो खानपान, वातावरण र विशेष गरी हावा र पानीको प्रयोग गर्नुहुँदैन भने नुहाउनुअघि टाउकोमा मन्तातो तेल लगाएर आधा घण्टापछि नुहाउनुपर्दछ । नुहाँउदाखेरी भने तातो र चिसो पानी मिसाएर सहन सक्ने चिसोे पानीकै प्रयोग गर्नुपर्दछ । अन्यथा, इन्द्रियदुर्बलता, कपाल झर्ने समस्याहरू बढ्ने गर्दछन् ।
– अहिलेको परिप्रेक्ष्यमा जाडोयाममा बढी हृदयाघातका समस्याहरु देखा पर्ने हुनाले मुटुलाई विशेषगरी जोगाउनुपर्दछ । हृदय अर्थात मुटुको क्रियाकलापलाई सन्तुलनमा राख्ने औषधिहरु जस्तै अर्जुन, अनार, बदर आदिको सेवन गर्न सकिन्छ। साथै धुलोधुँवाबाट बच्ने, बिहानमा प्राणायाम गर्ने, शरीरले सक्ने खालको व्यायाम गर्ने गर्नुपर्दछ ।
– नयाँ चामल र अन्य नयाँ अन्नको भातको सेवन गर्नुपर्दछ । अन्य ऋतुमा भने पुरानो अन्नकै सेवन गर्नुपर्ने आयुर्वेद शास्त्रमा उल्लेख छ । नयाँ अन्न सधैँ भने नखानको लागि भनेको छ जस्ले सन्तर्पणजन्य मोटोपन मधुमेहजस्ता रोग लाग्दछ भने यो ऋतुमा अग्नि उत्तम हुने र धेरै र गुरुभोजन आवश्यक हुने भएकाले खान सकिन्छ ।
– शरीरको प्रकृति, पाचनप्रणाली आदिको विचार गरी आयुर्वेद चिकित्सकको परामर्शमा तुलसी, गुर्जो, जेठी मधु, दशमूल आदिको चिया खान सकिन्छ।
– बिहान शौच आदि क्रिया गरिसकेपछि च्यवनप्राशको सेवन गर्न पनि सकिन्छ ।
– जाडोयामामा छाला बढी सुख्खा भएर फुस्रो हुने हुनाले छालालाई सुख्खा रहन नदिन नरिवलको तेल, तिलको तेलले अभ्यङ्ग र अगुरु आदि सुगन्धित द्रव्यको लेपको प्रयोग गर्ने ।
– चिसो मौसममा विशेष गरी रुघा, खोकी, ज्वरो आदि समस्या आउने हुनाले माथि बताइएका नियमहरू अपनाउँदा ज्यादै कम मात्रै समस्या देखिन्छ। त्यस्तो अवस्थामा जटिल किसिमका औषधिहरूको सेवन गरेर अनेकौ दुष्प्रभाव निम्त्याउनुभन्दा आयुर्वेद चिकित्सकको परामर्श लिएर घरेलु औषधी र ऋतुका नियम पालन गर्दा त्यस्ता समस्याहरूबाट छुटकारा पाउन सकिन्छ ।
डा. सबिता भण्डारी सत्याल
आयुर्वेद चिकित्सक
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, सिन्धुपाल्चोक




