नीतिकारहरूले सुखलाई छवटा भावमा व्याख्या गरेका छन् । ती हुन्ः अर्थोपार्जन; आरोग्य; आनन्दमय; दाम्पत्य; आनन्दमय वचन; आज्ञाकारी सन्तान; अर्थकारी विद्या । सुखका यी छ प्रकारलाई हाम्रा नीतिशास्त्रहरूमा विस्तृत वर्णन गरिएको छ । स्वास्थ्य रक्षाको लागि आयुर्वेदले आहार, आचार र औषधलाई प्रधान मानेको छ । यी तीन कुराहरू हाम्रो स्वास्थ्य र पोषणलाई संरक्षण र संवर्द्धन गर्नका लागि हुन् । हाम्रो स्वास्थ्य शारीरिक तन्दुरुस्ती र पोषणमात्र होइन आत्मा, इन्द्रिय र मनको समेत स्वास्थ्य र पोषण हो । यसको जग हाम्रो भान्साकोठा हो जहाँबाट आरोग्य र पोषणको प्रारम्भ हुन्छ । भान्साकोठाबाट मुख्य तीन कार्य सम्पादन हुन्छन्ः
– खाद्यपदार्थ सुरक्षित राख्ने कार्य,
– खाना पकाउने कार्य,
– खाना खाने/खुवाउने कार्य ।
सुश्रुतसंहितामा भान्साको सुन्दर वर्णन गरिएको छ । भान्सा खुला, वास्तुविद्हरूद्वारा प्रशंसा गरिएको, फराकिलो, सफा भाँडाकुँडा भएको, चारैतिर झ्याल भएको, जाली लगाइएको, धुलो र कसिँगरहरूको बाटो नपर्नेगरी बनाइएको, आप्त अर्थात् विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको, परीक्षित परिचारक र परिचारिका भएकोलाई महानस भनिएको छ । झण्डै पाँचहजार वर्षअघिका हाम्रा पुर्खा ऋषिहरूले बताएको यस्तो भान्साकोठा आधुनिक भान्साको तुलनामा निकै शालीन र उपयुक्त भान्सा भएको मान्नुपर्छ । यस्तो भान्साघर खाना पकाउने कार्य, खाद्यपदार्थ सुरक्षित राख्ने कार्य, खाना खाने खुवाउने कार्यका लागि उपयुक्त हुन्छ ।
त्यतिबेला हाम्रो परम्परागत भान्साको राम्रो मर्यादा हुन्थ्यो । भान्साभित्र रहेकाहरुलाई भान्सा बाहिरका कसैले पनि जथाभावी छुन पाउँदैनथे । अर्थात् पवित्रता भान्सामा प्रवेश गर्नका लागि पूर्वशर्त मानिन्थ्यो । ब्राम्हमुहूर्तमा स्नान नगरेको र भान्सामा प्रवेश गर्दा शुद्ध वस्त्र (भान्साकै लागि निर्धारित) नलगाएको व्यक्तिले भान्सामा प्रवेश पाउँदैनथे । यी सबै भोजन प्रदूषित नहोस् भनेर राखिएका मर्यादा थिए । आयुर्वेदले पनि भान्साकोठाको मर्यादा कायम गर्दा यिनै कुरालाई ध्यान दिएको छ । आजको सन्दर्भमा पनि भान्साको आयुर्वेदीय मर्यादा स्वास्थ्यको रक्षा र खाद्यपदार्थको गुणस्तरीयता कायम गर्न महत्वपूर्ण छ ।

खाद्यपदार्थको जतन वा भण्डारण भान्सा कोठाको अलग्गै या सम्भव भएसम्म जोडिएको अको कोठामा हुनु आवश्यक छ । हिजोआज भान्सामा खाद्यभन्दा अखाद्य पदार्थ धेरै हुन्छन् । चाउचाउ, बिस्कुट, कुक्कीज, आलुचिप्स, चिजबल्स, कुरकुरे, भुजिया, दालमोठ, चकलेट, क्याड्बरी, आइसक्रिम, केक, कोक लगायतका पेयपदार्थ, तयारी मम, पिज्जा, पानीपुरी, बजारी फुरुनदाना, विभिन्न किसिमका अचार र चटनीहरू आदि हाम्रो भान्साका सम्पन्नता हुन् भन्ने ठानिन्छ यद्यपि यी सबै खानै नहुने पत्रुखाना (Junk food) हुन् । मधुमेह, हृदयघात, मस्तिष्कघात, उच्चरक्तचाप, मृगौलाको समस्या, हाडजोर्नीका रोगहरू, कुपोषण र क्यान्सरजस्ता घातक तथा दीर्घरोगहरू यिनै पत्रुखानाका कारणले लाग्ने गर्दछन् । यसैले यस्ता पत्रुखानाहरूलाई हामीले हाम्रो भान्साघरमा स्थान दिनु हुँदैन । अझ हुनेखानेका भान्सामा विभिन्न ब्राण्डका विदेशी खानेकुरा, पेयपदार्थ हुने गर्दछन् । यिनले हाम्रो सादा भोजनको अनुशासनलाई खलबल्याउने मात्र होइन हाम्रो स्वास्थ्य र तन्दुरुस्तीमा समेत नकारात्मक असर पार्दछ ।
अहिले खाना पकाउने शैली पनि बदलिँदै गएको छ । केहि दिनअघि काटेर राखिएका सागसब्जीहरूमा पोषकतत्व ह्रास हुन सक्छन् भन्ने कुरा सबैले बुझ्नु जरुरी छ । पकाएर फ्रिजमा राखिएका खानेकुरामा पौष्टिक तत्व नास भएका हुन्छन् । फुर्सदमा तयार पारेर फ्रिजमा जोगाएर राखिएका बासी खानाहरू अस्वीकार गर्ने व्यक्तिलाई अहिले असहयोगी र अव्यवहारिक मान्ने गरिन्छ । यसो गर्नु ठिक होइन । पकाइएका खाना पुनः तताउन लाग्ने समय, त्यसमा प्रयोग हुने इन्धनको खपत विचार गर्ने हो भने यसले समयको र अर्थ दुवैको वचत गर्दैन ।
अहिलेको आधुनिक पुस्तालाई घरको भान्साभन्दा होटलको डाइनिंग टेबुल भव्य लाग्छ । होटलमा बनाई प्याक गरिएका खानेकुराहरू घरको डाइनिंग टेबुलमा राखिएका छन् भने त्यसलाई पनि इज्जतको सूचक मान्ने गरिन्छ । वास्तवमा यो मानसिक दरिद्रता हो । पुर्खौदेखि प्रचलनमा रहेको पिर्कामा बसेर आफ्नो आर्जन अनुसारको भोजन लिने कार्यलाई गर्वको रुपमा लिइँदैन हिजोआज । परिवर्तन हुँदै गएको यस्तो प्रचलनलाई पुनर्विचार गर्नु जरुरी छ ।
“खाना पकाउने कार्यमा परिवारका सदस्यहरूले योगदान गरून्, आफ्नै करेसाबारीमा उत्पादन गरिएको सागसब्जी, फलफूल र घरमै उत्पादित दुध, घिउ–तेल खान पाइयोस्” – यस्तो परिकल्पना गर्ने मान्छेलाई अहिलेको आधुनिक भनिने समाजमा नरुचाउनेहरू पनि छन् । अहिलेको पुस्तामा चिउरा, खट्टे, मुरही, मकै भटमास, चना केराउ, बदाम आदिको खाजा खान नरुचाउने संस्कार विकास हुँदै गएको छ । यस्तो सोँचमा परिवर्तन आवश्यक छ । पुर्खौदेखि चल्दै आएको सबै चलन खराब हुँदैनन् । नराम्रो चलनलाई हटाउनुपर्छ भने राम्रा अभ्यासहरूलाई निरन्तरता दिनु जरुरी छ । यसबारे सबैलाई सचेत गराउनुपर्छ ।

भान्साकोठामा जिरा, मरीच, धनियाँ, सूप, ज्वानो, मेथी, हलेदो, अदुवा, लसुन, सूठो, ल्वाङ, सुकुमेल, अलैंची, दालचिनी, पिप्ला, बिरेनुन, सिधेनुन, हिङ, जाइफल आदि मसलाहरूले खाली हुनुहुँदैन । यी मसला मात्र होइनन्, औषधी पनि हुन् । अहिले विभिन्न ब्राण्डका मसलाहरू, जस्तै मीटमसला, मममसला, चिकन मसला जस्ता वस्तुहरूको प्रयोगमा वृद्धि हुँदै गएको छ । यस्ता वस्तुहरूको प्रयोगबाट हुने नकारात्मक असरबारे सचेत हुनु जरुरी छ । हाम्रो भान्सामा अपच भएको बेलामा जिराको काँढा बनाएर खानका लागि जिराका दाना हुनुपर्छ । सर्दी लागेको बेलामा प्रयोग गर्नका लागि पिप्ला, मरिच र शूठो राखिएको हुनुपर्छ । पेटमा वायु बढेमा हिङपानी खानुपर्छ, त्यसैले हाम्रो भान्सामा हिङ उपलब्ध हुनुपर्छ ।
धान, मकै, जौ, गहुँ, चिनो, सामा, लट्टे, कोदो, फापर, जुनेलो, तोरी, सस्र्यूं, रायो, मास, मूँगी, बोडी, मस्याङ, गहत, राजमा, चना, केराउ, मुसुरो, सिमी, तिल, आलस, बदाम, झुसे आदि अनाज, दलहन, तेलहनको प्रयोग गर्नुपर्छ । परम्परादेखि प्रयोग हुँदै आएको शुद्ध खानेकुरा हराउनु र मरमसलायुक्त आधुनिक खानाको उपयोगमा वृद्धि हुँदा मधुमेह, रक्तचाप, बोसोजन्य स्वास्थ्यसमस्या, जोर्नीबाथ, अर्वुद (क्यान्सर) जस्ता नसर्ने दीर्घरोगीको सङ्ख्यामा बढौती हुनु सामान्य बन्दै गएको छ ।

भान्साकोठामा सामान्य स्वास्थ्य समस्या पर्दा तयार पार्न सकिने घरेलु औषधी उपलब्ध हुनु राम्रो हुन्छ । रुघाखोकी लागेको बेलामा हलेदोको टुक्रालाई पकाएर खान सकिन्छ । अपच हुँदा बिरेनुन वा सिधेनुनमा अदुवा चोपेर टोक्दा फाइदा हुन्छ । प्रदर भएका महिलाहरूलाई ढिकीमा कुटेको चामलको चौलानीमा सख्खर मिलाएर पिलाउँदा उल्लेखनीय लाभ हुन्छ । झाडापखाला भएको बेलामा मण्ड, पेया, विलेपीलगायतका आयुर्वेदीय पथ्य तयार पारेर खुवाउन सकिन्छ । जिउ दुखेको बेलामा कपूरको तेलले मालिस गर्नु लाभजनक हुन्छ । गर्मीको बेला विभिन्न किसिमका सरवत बनाएर पिउन सकिन्छ । सर्दीयाममा तुलसी, त्रिकटु, पञ्चकोल आदिको तातो पेय पिउन सकिन्छ । भान्साकोठामा माथिका कुराहरू तयार पार्नका लागि आवश्यक सामग्री तयारी अवस्थामा राख्नुपर्छ । यसले भान्साको शोभा बढाउँछ ।
पिरो, अमिलो, नुनचर्को, धेरै तातो, तीखो, रुक्खो र खाएपछि पोल्ने खालको आहारलाई राजसी आहार मानिन्छ । यस्तो आहारले दुःख, शोक र रोगलाई बढाउँदछ । आधा पाकेको, मूलरस गइसकेको, दुर्गन्धयुक्त, बासी खाना भान्सामा राख्नु हुँदैन । यस्ता भोजनले शरीर र मन दुवैका लागि हानिकारक हुन्छन् ।
हाम्रो स्वास्थ्य भान्साकोठाबाट नै सुरक्षित हुने हो । तसर्थ, हाम्रो भान्सा कोठाको अवस्थाको समीक्षा गरौं र आवश्यक सुधार पनि गरौँ । भान्सामा स्वस्थ खानेकुराको कमी नहोस् र पत्रु खानालाई भान्सा कोठामा प्रवेश नगराऔँ । भान्साघर सुधारौं, भान्सामै खानाखाने गरौं, परिवारका सदस्यहरू एकसाथ भोजन गरौं । निरोगी रहौं, सुखी रहौँ ।
लेखक आयुर्वेद चिकित्सक हुन् !
लेखमा प्रस्तुत चित्रहरु इन्टरनेटबाट लिइएका हुन्




