spot_img

कृषि तथा वनमा आधारित मुलुकको सम्वृद्धिका लागि नविन दृष्टिकोणको खाँचो

पृष्ठभूमि

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल दक्षिण एसियामा अवस्थित १ लाख ४७ हजार ५१६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको भूपरिवेष्ठित राष्ट्र हो । संयुक्त राष्ट्र संघको सदस्य भएको नेपालमा सात प्रदेश र ७५३ स्थानीय तह छन् । नेपालको अर्थतन्त्र कृषिमा आधारित छ र राष्ट्रिय जनगणना २०७८ अनुसार दुई तिहाईभन्दा बढी जनसङ्ख्या कृषि पेशामा आश्रित छन् । मुख्य अन्नबालीहरूमा, धान, मकै, गहुँ, कोदो, र फापर छन् भने मुख्य नगदेबालीमा ऊखु, आलु, चिया, अँलैची, जुट आदि छन् ।

नेपाल जैविक विविधताले भरिपूर्ण छ र यहाँ उष्ण, समशितोष्ण र शीतोष्ण हावापानी पाइन्छ । दुर्लभ पशुपन्छीहरूमा रातो पाण्डा, कस्तूरी, सालक, डाँफे, मुनाल र धनेश पाइन्छन् ।

नेपाललाई बेलाबखत प्राकृतिक विपत्ति र महामारीजस्ता मानवीय संकटले पनि प्रभावित गरिरहेको छ । २०७२ सालको भूकम्पका कारण ८,६९९ जनाको मृत्यु भएको थियो । यसले देशको कृषि, वन र वन्यजन्तुमा पनि नकारात्मक प्रभाव पारेको थियो । कोभिड-१९ महामारीले देशको अर्थव्यवस्थालाई थप कमजोर बनाएको छ । पहिरो, जल प्रदुषण, वायु प्रदुषण र मौसम परिवर्तन जस्ता समस्याहरू पनि बढ्दै गएका छन्, जसले उर्वर जमिन, वन्यजन्तुको वासस्थान र वातावरणलाई नकारात्मक रूपमा प्रभावित गरिरहेका छन्  । यस्तो अवस्थामा मुलुकको सम्वृद्धिका लागि के–कस्तो दृष्टिकोणको आवश्यकता पर्दछ भन्ने प्रश्न महत्वपूर्ण हुन्छ । यसै सेरोफेरोमा यो लेखमार्फत केही नविन बिचारहरु पेश गर्ने जमर्को गरिएको छ ।

वर्तमान अवस्था

नेपाल एक कृषि प्रधान देश हो तथापि यहाँको उब्जनिले जनसङ्ख्याको लागि आवश्यक खाद्य माग धान्न सकिरहेको छैन   । खाद्य वस्तु तथा कृषि औजारको लागि नेपाल वर्षेनी अन्य राष्ट्रसँग भर पर्नुपरेको छ । आर्थिक वर्ष २०७६ र ०७७ मा मात्रै नेपालले करिब २ खरब ४३ अरब रकम बराबरको खाद्यान्न आयात गरेको थियो । त्यसपछिका वर्षहरुमा पनि सोही अनुपातमा (अझ केही थप मात्रामा) खाद्यवस्तुको आयात भइरहेको छ । आधुनिक कृषि पद्धति तथा औजार र पुँजीको अभावका कारण देशमै पर्याप्त रोजगारी सृजना हुन सकेको छैन । रोजगारीको अभावले बहुसंख्यक नेपाली युवा पिंढी कृषि पेशालाई चटक्क छाडेर विदेशी भूमिमा चर्को घाम, भोक, तिर्खा केहि नभनिकन दिनरात मेहनत गर्न बाध्य छ्न् । विदेशी भूमिका काम गर्न गएका युवाहरुको वर्षेनी लगभग हजारको सङ्ख्यामा मृत्यु हुने गरेको छ र उनीहरुको पार्थिव शरीर बन्द बाकसमा फिर्ता आउने गरेको पीडादायी दृष्य हेर्नुपर्ने स्थिति छ ।

विकासका नाममा पर्यावरणीय संरक्षण, सम्बर्धन तथा अनुकुलतालाई लत्याएर जथाभावी वन विनाश गर्ने, अव्यवस्थित सडक निर्माण जस्ता कार्यले प्राकृतिक सौन्दर्यतामा आँच त पुर्याएको छ नै त्यसका साथै यसले प्राकृतिक प्रकोपलाई निम्त्याएको छ । यसकै कारण पानीका मुहानहरु सुक्दै गएका छन् र भूक्षय डरलाग्दो हिसाबमा वृद्धि भइरहेको छ । त्यस्तै वातावरणीय अध्ययनबिना गरिएको सडक निर्माणले वन जंगलको नास हुनाका साथै दू्र्लभ जीवजन्तु तथा पशुपन्छी लोपोन्मुख हुँदै गएका छन् । अव्यवस्थित रुपमा निर्माण गरिएका कलकारखाना तथा बढ्दो सहरीकरणका कारण दिनानु दिन वातावरण प्रदुषित हुँदै गइरहेको छ जसको गम्भीर नकारात्मक असर वातावरणीय पक्षमा मात्र नभई मानव जीवनमा समेत पर्न थालेको छ । जलवायु परिवर्तन, हरितगृहको प्रभाव तथा ओजोन तहमा दिनानु दिन हुँदै गएको क्षयीकरणका कारण पृथ्विको तापक्रम दिनानु दिन बढ्न गई त्यसको प्रतिकुल असरहरू देखा पर्न थालेका छन् । नेपाल जस्ता साना मुलुकहरु यसको प्रमुख कारक नभए तापनि यसको असरबाट भने हाम्रो जस्ता मुलुकहरु बढी प्रभावित भइरहेका छन् । त्यस्ता समस्याहरुको न्यूनिकरण गरी त्यसको नकारात्मक असरबाट बच्नका लागि पनि सम्पूर्ण नागरिकहरुलाई सचेत गराउनु आवश्यक छ ।

संभावना तथा चुनौति

यहाँ समस्या मात्र छैन । देश र देशबासीको प्रगतिको लागि प्रचुर सम्भावना पनि छ । यहाँ उपलब्ध जल, जमिन, जंगल, जडीबुटी र जनशक्तिको समुचित तथा आधुनिक प्रविधि र वैज्ञानिक तवरले सही सदुपयोग गर्न सकिएमा देशको अर्थतन्त्रमा ठूलो लाभ हुने देखिन्छ  ।

कृषि र प्राकृतिक स्रोतको प्रचुरता रहेकोले नविनतम् कृषि पद्धति, सुव्यवस्थित वन तथा वन्यजन्तु संरक्षण र वातावरणीय संरक्षणको सम्भावना छ । यार्सागुम्बा, टिमुर जस्ता जडीबुटीबाट औषधी निर्माण, बायोफोर्टिफिकेसन पद्धतिको प्रयोग, कागज उत्पादन र मास्कको पुन: उपयोग गरी आर्थिक विकास गर्न सकिन्छ । फलफूल उत्पादन र निर्यात, भेडा, चौंरी, गाईको दूग्धजन्य पदार्थ र हिमाली क्षेत्रको व्यवसायिक कुखुरा पालनले देशको अर्थतन्त्रमा टेवा पुर्याउन सक्छ । अहिले विश्वव्यापी रुपमा शुद्ध पिउने पानीको अभाव बढ्दै गइरहेको छ । नेपालको हिमाली क्षेत्रमा पाइने शुद्ध र खनीजयुक्त स्वच्छ पानीलाई मिनरल वाटरको रूपमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा पुर्याउन सकिएमा यसबाट मनग्गे आम्दानी गर्न सकिन्छ । आधुनिक सिंचाई प्रणाली अपानाई कृषि उत्पादनमा व्यापक वृद्धि गर्न सकिन्छ । पर्यटकीय आकर्षणहरूको सदुपयोगले पनि देशको शोभा बढाउन सक्छ ।

तथापि आर्थिक अभाव, दक्ष जनशक्तिको अभाव, आधुनिक कृषि औजार तथा प्रविधिको कमी, अव्यवस्थित सहरीकरण, भौगोलिक विकटता, जलवायु परिवर्तन र रुढिवादी प्रथाहरू प्रमुख चुनौतीहरू हुन् । यी चुनौतीहरूको सामना गर्दै सम्भावनालाई अवसरमा परिणत गर्नु आवश्यक छ ।

बजारको माग तथा आपूर्ति

राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पनि नेपाली कृषि उब्जनि, जडीबुटीको अत्याधिक माग छ  । विश्व बजारमा नेपाली गुन्द्रुक, ढिंडो र सिस्नुको माग दिनानु दिन बढ्दै गइरहेको छ । पछिल्लो समयमा नेपालमा उत्पादित तयारी अचारको बजार माग दक्षिण कोरिया, जापान, अष्ट्रेलिया जस्ता देशहरूमा अत्याधिक छ  । नेपालमा उत्पादित ऊन र ऊनबाट उत्पादित वस्तुको माग पनि विश्व बजारमा मनग्य छ । त्यसैगरी नेपालमा उत्पादन हुने कपासको पनि विश्व बजारमा माग छ । यसरि नेपालमा उत्पादित जुनसुकै वस्तुले पनि राम्रो बजार भाऊ लिने निश्चित छ  । त्यसकारण सहज आपूर्ति व्यवस्थापनको लागि सबै तह र तप्काका सरोकारवालाको ध्यान जान जरुरी छ  ।

सानो श्रम र पुँजीको उपयोग

आधुनिक कृषि प्रणाली सहितको खेतिपाति, वन तथा वन्यजन्तु संरक्षण, र वातावरणमा नविनतम्, उत्पादनमुलक तथा सकारात्मक आमुल परिवर्तन ल्याउनका निमित्त श्रम र पू्ँजिको आवश्यकता पर्दछ  । माथि उल्लेखित सम्पूर्ण सम्भावनामा नविन दृष्टिकोणका साथ काम गर्न सकिएमा सानो पूँजीको लगानी पनि प्रारम्भ गर्न सकिन्छ । जस्तै, कागति र सुन्तलामा पाइने तत्वबाट पारदर्शी काठको निर्माण गरी घर बनाउन करिब १० लाख लागत लाग्ने अनुमान गर्न सकिन्छ  । त्यसैगरी विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत हिमाली क्षेत्रको पानीलाई व्यवस्थित र पर्यावरणीय संरक्षणलाई मध्यनजर गर्दै मिनरल वाटरको रुपमा बजारमा ल्याउनको निमित्त ढुवानी खर्च बाहेक करिब १० हजारको लागतमा नै थालनी गर्न सम्भव छ । त्यस्तै, हिमाली क्षेत्रमा स्याऊ लगायतका फलफूल र अन्य वन पैदावर जंगल तथा जडीबुटीको व्यवसायिक खेति तथा औधोगिकरणका निमित्त पनि करिब १० हजारको श्रम तथा पुँजीको अनुमान गर्न सकिन्छ  । यसरी सानो पूँजीको लगानीमा समुदाय तहमा नै स–साना उद्योगको थालनी गर्न सकिएमा मध्यम र निम्न–मध्यम वर्गलाई सहजै उद्योगधन्दामा सहभागी गराउन सकिन्छ । यसले अहिले देखिएको ‘जसरी पनि शहर बजारमा जाने’ जनसङ्ख्यालाई गाउँघरमै रोक्न सकिन्छ, जसको कारण शहरतिर बढीरहेको जनसङ्ख्याको चाप र त्यसले पारेको सामाजिक, आर्थिक तथा वातावरणीय (नकारात्मक) असरलाई कम गर्न सकिन्छ ।

माथि उल्लेखित नविन दृष्टिकोण तथा व्यवस्थित योजनासहित कार्य गर्नुपर्छ । दशवर्षको विस्तृत रणनीतिक योजना तयार पारी कार्य गर्न सकिएमा यसले कालान्तरसम्म दिगो विकासको लक्ष्य अनुरुप गति लिने सम्भाव्यतालाई सहजै आकलन गर्न सकिन्छ  । यसरी कार्य गर्न सकिएमा निम्न उपलब्धि हासिन हुन सक्ने कुरामा कुनै सन्देह छैन ।

  • उन्नतजातका तरकारी, फलफूल, अन्नवाली तथा  पशुपन्छीको उत्पादन र  आम्दानीमा वृद्धि
  • शारीरिक श्रम तथा समयको बचत
  • रोजगारीको अवसरको सिर्जना
  • वन तथा वातावरणको प्राकृतिक सुरम्यता कायम
  • लोपोन्मुख वन्यजन्तुको संरक्षण 
  • जलवायु परिवर्तनको असरमा न्यूनिकरण
  • जल, जंगल, जमिन, जडीबुटी र जनशक्तिको सदुपयोग
  • अर्थतन्त्रमा वुद्धि
  • गुणस्तरीय जीवन निर्वाह गर्ने वातावरणको सिर्जना

अन्तराष्ट्रिय बजारीकरणमा जोड

कृषि पद्धति, वन तथा वन्यजन्तु संरक्षण र वातावरणमा नविन भिजनद्धारा चालिएका पाइलाहरुले गति लिने निश्चित छ । उक्त उपलब्धि प्राप्त गर्नका निमित्त राष्ट्रिय तथा अन्तराष्ट्रिय केन्द्रहरुसँग हातेमालो गर्दै अन्तराष्ट्रिय बजारीकरण तर्फ जोडबल गर्नुपर्ने देखिन्छ । नेपाली वस्तुको अन्तराष्ट्रिय बजारीकरणबाट नेपाललाई ठुलो योगदान पुग्छ । नेपाली उत्पादनले विश्व बजारमा स्थान ओगट्नुका साथै अर्थतन्त्रमा टेवा दिन्छ । स्वदेशी सामानको निर्यात बढ्न गई विदेशी सामानको आयातमा कमी ल्याँउछ, फलस्वरुप देशको अर्थतन्त्रमा आमुल सुधार ल्याई दर्बिलो आधारशिला खडा गर्न सकिन्छ । त्यस्तै अन्तराष्ट्रिय बजारीकरणमा जोडबल गर्न सके देशमा व्याप्त  बेरोजगारीको समस्या पनि दिन प्रतिदिन न्यून हुँदै द्रुत गतिमा औधोगिक विकास हुनेछ  । त्यसकारण भौगोलिक विकटता, सामाजिक तथा सांस्कृतिक पक्षमा विविधता, तिव्र प्रतिस्पर्धाका आइपर्ने चुनौतिको सामना गर्दै कृषि पद्धति, वन तथा वन्यजन्तु संरक्षण र यहाँ उत्पादित वस्तुहरुको अन्तराष्ट्रिय बजारीकरणमा सरोकारवाला सम्पूर्ण पक्षले ध्यान दिन जरुरी छ । यसो गर्न सकिएमा ‘प्राकृतिक स्रोतसाधनले भरिपूर्ण हुँदाहुँदै पनि नेपाल किन सम्वृद्ध हुन नसकेको होला’ भन्ने जस्ता प्रश्नहरु पुनः सुनिने छैनन् ।

सुजन कार्की
+ posts

1 COMMENT

  1. तिम्रो अनुसन्धान सोच एक दमै सही छ यसमा भूगोल जनसङ्ख्या स्वास्थ्य जस्ता बिषयहरु मज्जाले समेटियका छन । अबका तिमीहरु जस्ता युवाको ध्यान यतातिर जानु आवश्यक छ ।

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here

सम्वन्धित सामग्री