spot_img

अबको खाँचो योगमा आधारित जीवनशैली

आजका मानिसहरू दिनरात दौडधुपमा व्यस्त हुन्छन् । उनीहरूका आवश्यकता असङ्ख्य छन् । विविध ईच्छा र कामनाहरू बोकी हिँड्छन् । अत्यधिक प्रतिस्पर्धाको जमाना छ । यदि कसैले नयाँ कुरा गरे भने त्यसको अन्धाधुन्ध अनुकरण गर्ने चलन बढ्दो क्रममा छ । आधुनिक जीवनशैलीले मानिसहरूलाई गाँज्दै लगेको छ । यसै कारण अधिकांश मानिसहरूको आवश्यकतामा पनि वृद्धि हुँदै गएको छ । वास्तवमा भन्ने हो भने मानिस उपभोक्तावादको खेलौना बन्दै गएको छ । उ भोगबाट तृप्त बन्न सकिरहेको छैन । उनीहरूको मुख्य धेय नै ‘खाउँ, पिउँ र सक्दो मोज गरुँ’ बन्दै गएको देखिन्छ । यस्तो प्रवृत्ति र सोहीअनुसारको जीवनशैलीले केही क्षणका लागि आनन्द त देला तर यसको दूरगामी परिणाम भनेको रोग, शोक र चिन्ताबाहेक अरु हुन सक्दैन ।

मान्छेको लागि आफ्नो जिवनभन्दा मूल्यवान् अर्को कुनै कुरा छैन । यस्तो अनमोल जीवन सुव्यवस्थित नभएसम्म सुख शान्ति र मौलिक आनन्द प्राप्त हुन सक्दैन । केहीले मानिसको जीवन व्यवस्थापनलाई एउटा सारङ्गीको तारको व्यवस्थापनसँग तुलना गरेर भन्छन्: जीवन प्रवाह एउटा सारङ्गी जस्तो हुन्छ, तार खुकुलो भयो भने मधुर धून निस्कंदैन र धेरै कस्यो भने चुँडिन सक्छ । तसर्थ यसलाई सन्तुलनका साथ चलाउनुपर्छ । विभिन्न प्रविधि, वैज्ञानिक उपकरण र औषधीले मानिसको आयुलाई लम्ब्याउन त सफल भएको छ, तर अर्कोतर्फ त्यसले मानिसलाई प्रविधिको दास बनाउँदै लगेको छ । यसले मानिसका आवश्यकताहरूलाई बढाईदिएको छ र यसबाट अनावश्यक तनाव सिर्जना भएको छ । समाजमा करुणा भाव हराउँदै गएको देखिन्छ । एकआपसमा गरिने सहयोग र सद्भावमा कमी आएको छ । झकिझकाउ वातावरण, चमकधमकपूर्ण रहनसहन र स्वादे खानपानले मानिसहरूलाई उपभोक्ता बनाउँदै लगेको छ । मानिसहरू स्वयं आफ्नो नियन्त्रणमा छैनन् । उनीहरुको जीवनशैली महँगो बन्दै गएको छ । यस्तो जीवनशैलीका लागि मानिसहरू ‘जसरी भए पनि कमाउनैपर्ने’ अवस्थामा पुगेका छन् । प्रतिष्पर्धा, भागदौड र अस्तव्यस्त जीवनशैलीका कारण मानिसहरू विभिन्न रोगका सिकार हुँदै गएका छन् । मानसिक रोगमा तिब्र वृद्धि भएको छ । यस्तो अवस्थासँग कसरी जुझ्ने भन्ने प्रश्न उठ्न थालेको छ । जीवनशैलीका कारण उब्जेका समस्याको समाधानका लागि मानिसहरूले आफ्नो जीवनशैलीमा नै पूर्ण परिवर्तन ल्याउनुपर्ने देखिन्छ । योगमा आधारित जीवनशैली यी समस्याहरूको समाधानको बाटो हुन सक्छ ।

यदि हामीले योगलाई जीवनमा समाहित गर्न सक्यौं भने यसले शारीरिक रोग र मानसिक रोगको निराकरण त गर्छ नै, साथै यसले जीवन जीउने कला पनि सिकाउँछ । उपनिषद्मा भनिएको छ “यस्माध्योगं समादाय सर्व दुःख वहिस्कृत” अर्थात प्रयत्नपूर्वक योग अभ्यास गर्ने हो भने यसले जीवनका समस्त दुःख र शोक निवारण गर्छ । यही शक्तिका कारण आज विश्वभरी योगको विस्तार भएको छ योगले एवम् घर–घरमा प्रवेश पाउन थालेको छ ।

योग त्यस्तो कला र विज्ञान हो जसलाई जो सुकैले पनि निःसंकोच प्रयोग गर्न सक्दछ । जसरी घामको प्रकाश सबैका लागि समतुल्य हुन्छ त्यसैगरी योग पनि सबैका लागि सर्वोपयोगी विद्या हो । युवा, वृद्ध, योगी, दुर्बल जोसुकैले पनि योगको अभ्यास गर्न र यसबाट लाभ प्राप्त गर्न सक्दछन् ।  त्यसैले भानिन्छ “एते गुणाः प्रवर्तन्ते योगमर्ण कृतश्रमै” अर्थात योग अभ्यास गर्न गरेको परिश्रम कहिल्यै निरर्थक हुँदैन । जब मानिस योग गर्न थाल्दछ, त्यसपछि चरणबद्ध रूपमा उसका शरीर भित्रका मलविकारहरू निष्कासन हुन थाल्दछन् । मलविकारबाट शरीर शुद्ध भएपछि इन्द्रीय र मन पनि एकाग्र हुन थाल्दछ । यसरी  शरीरको आन्तरिक र बाह्य शुद्धि भएपछि शरीरको स्थिरता, दृढता र कार्यक्षमतामा वृद्धि हुन थाल्दछ । त्यसैले भौतिक र आध्यात्मिक क्षेत्रमा सफल हुन चाहनेहरूका लागि योग अपरिहार्य छ ।

योगमा अभ्यस्त व्यक्तिहरू बाहिर कुशल र भित्र शान्त हुन्छन् । समय व्यवस्थापन गर्दै प्राथमिकता र आवश्यकताअनुसार काम गर्न सक्षम हुन्छन् । जतिसुकै व्यस्त भएपनि अरुलाई अभिवादन, कृतज्ञता र शिष्टाचार व्यक्त गर्न भुल्दैनन् । शारीरिक दृष्टिले तन्दुरुस्त र हँसिलो देखिन्छन् । आफ्नो स्वास्थ्यप्रति सजक हुन्छन् । बेला बेलामा स्वास्थ्य जाँच गराउनुपर्ने कुरामा सचेत हुन्छन् । नियमित व्यायाम, योग, प्राणायामका लागि समय निकाल्छन् । कम महत्वाकांक्षी हुन्छन् । कर्तव्यनिष्ठ र लक्ष्य केन्द्रित हुन्छन् । थकानरहित फुर्तिलो र लचिलो स्वभावका हुन्छन् । गहिरो निद्रा र विश्राम  लिन जान्दछन् । अध्ययनशील, तथ्यानुगामी र मृदुभाषी हुन्छन् । अरुको भलो चाहन्छन् वा भलो गर्न नसके पनि कुभलो गर्दैनन् ।

जो व्यक्ति सांसारिक प्रतिस्पर्धामा विजयी हुन चाहन्छ र आध्यात्मिक गहिराईमा प्रवेश गरेर आत्मविकाश गर्न चाहन्छ, त्यस्ता व्यक्तिहरूका लागि योग अति आवश्यक छ । व्यक्तिको रुची, सामर्थ्य, संस्कार, स्तर अनुरुप जसलाई जस्तो योगपद्धति उपयुक्त हुन्छ त्यस्तै पद्धति अपनाउन सकिन्छ । तसर्थ योग मानवमात्रलाई शिखरमा पुर्याउने महाविज्ञान हो र आजको युगमा सबैलाई योगको खाँचो छ । नियमित योग गरौँ, शारीरिक तथा मानसिक रूपमा स्वस्थ बनौँ । जीवन बिताउने होइन, जीवन जीउन सिकौँ ।

लेखक जानुका भट्टराई आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, ललितपुरमा
कविराजको रुपमा कार्यरत हुनुहुन्छ

जानुका भट्टराई
+ posts

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here

सम्वन्धित सामग्री