spot_img

मानसिक स्वास्थ्यको सङ्क्षिप्त परिचय

विश्व स्वास्थ्य संगठनले सन् १९४६ मा प्रतिपादन गरेको परिभाषा अनुसार “स्वास्थ्य भनेको रोग, विसञ्चो तथा दुर्बलताबाट मुक्त भएको अवस्था मात्र नभई शारीरिक, मानसिक एवम् सामाजिक रूपले पूर्ण स्वस्थताको स्थिति हो ।” यो परिभाषाअनुसार स्वास्थ हुनका लागि शारीरिक रूपमा मात्र नभई मानसिक एवम् सामाजिक रुपमा पनि पूर्ण रूपमा तन्दुरुस्त हुनु जरुरी छ । यसर्थ, ‘स्वास्थ्य’को परिभाषाको एक महत्वपूर्ण अंश मानसिक स्वास्थ पनि हो । सामान्यतया स्वःसचेत र आत्मसंयम भई कुनैपनि व्यक्ति आफ्नो जिम्मेवारीप्रति सचेत रहनु, परिस्थितिअनुसार उपयुक्त संवेग वा भाव अनुभव गर्नु र उचित व्यवहार गर्न सक्नुलाई मानसिक रूपले स्वस्थ अवस्था अथवा त्यस्तो व्यवहार गर्न सक्ने व्यक्तिलाई मानसिक रूपमा स्वस्थ मान्न सकिन्छ । यदि व्यक्तिको सोचाईमा, बुझाईमा र चिन्तन गराईमा परिवर्तन आई व्यवहारमा असर पर्छ भने उसमा मानसिक समस्या रहेको रूपमा बुझिन्छ । तर हाम्रो समाजमा मानसिक समस्यालाई फरक फरक रूपमा बुझ्ने गरिन्छ । मानसिक समस्या भएको अवस्थालाई कसैले ‘पागल’को रूपमा व्याख्या गर्छन् भने केहीले यसलाई समस्याको रूपमा नै लिँदैनन् । यसबारे पर्याप्त वहस नै हुन सकेको छैन । तसर्थ यो लेखमार्फत मानसिक स्वास्थ्यबारे सङ्क्षिप्त जानकारी दिने जमर्को गरिएको छ ।

आधुनिक जीवनशैली र बढ्दो तनावका कारण मानसिक समस्या विकराल हुँदै गइरहेको छ । स्वास्थ्य शिक्षा र सेवामा उल्लेखनीय बृद्धि र विकास भए तापनि मानसिक समस्याका बारेमा जनचेतनाको कमी, सामाजिक मान्यता, मानसिक रोगीप्रति गरिने विभेद तथा लान्छनाका कारण मानसिक समस्याबाट प्रभावित व्यक्ति अरूसँग आफ्नो समस्याका बारेमा खुलेर कुरा गर्न सक्दैनन् । त्यस्तै मानसिक समस्याको उपचार सम्भव हुन्छ, यसको उपचार कहाँ र कसरी हुन्छ भन्ने जानकारीसमेत नहुँदा कयौँ मानिसहरू सहजै हुन सक्ने उपचारबाट बञ्चित हुने गरेका छन् । कतिपय मानिसहरू समयमै सही उपचार नपाएर समस्यामै रुमलिरहेका हुन्छन् ।

मानसिक समस्या वा रोगलाई सामान्यतया ‘मनको रोग’ भन्ने चलन छ । मन भन्नाले मानिसको सबैभन्दा शक्तिशाली अङ्ग हो, जसले शरीरका सबै अङ्गका कार्यलाई नियमित गर्ने गर्दछ । मनका बारेमा व्याख्या त गर्न सकिन्छ, तर मनलाई आँखाले देख्न सकिँदैन । तर जब मानिसको मन असन्तुलित हुन्छ, उसको शरीरका सम्पूर्ण प्रणालीमा बदलाव आउँछ र उसको भावना र विचारमा नकारात्मक परिवर्तन आई उसको समग्र क्रियाकलापमा नै प्रतिकुल असर पर्दछ । यसरी असर परेपछिको अवस्थालाई मानसिक समस्या भन्ने गरिन्छ । मन आतिने वा छटपटिने, बेचैनी हुने, निद्रा नपर्ने, भोक नलाग्ने वा धेरै खाने जस्ता अस्वाभाविक व्यवहारहरू मानसिक असन्तुलनका लक्षणहरू हुन् । केहीमा यस्ता समस्या क्षणिक मात्र पनि हुनसक्छन् भने कसैकसैमा यो समस्या लामो समयसम्म रहीरहन सक्छ र समस्या पटकपटक आइरहन सक्छ । यस्तो भएमा चिन्ता (Anxiety), उदाशिनता (Depression), डराउने (Phobias) जस्ता जटिल समस्याहरू बढ्दै जान सक्छन् ।

सामान्यतया शरीरमा हुने पीडा, ज्वरो, घाउ, चोटपटक, झाडा पखाला, आँखा दुख्ने, कान पाक्ने, रुघा, खोकी, दम, जीउ सुन्निने, पेट दुख्ने, वान्ता हुने आदि समस्याहरूलाई शारीरिक अस्वस्थताका लक्षणका रूपमा लिने गरिन्छ । तर यस्ता कतिपय लक्षणहरू शारीरिक मात्र नभई मानसिक समस्याका कारण पनि हुन सक्छन् । शारीरिक समस्या हो भने त उचित उपचारपछि निको हुन सक्छ, तर यदि समस्या शारीरिक नभई मानसिक हो भने मानसिक रोगकै उपचार पद्धतिबाट समाधान गर्नुपर्ने हुन्छ । त्यसैले मानसिक अस्वस्थतालाई समयमै पहिचान गर्नु आवश्यक हुन्छ । मानिसहरू तुलनात्मक रूपमा शारीरिक अस्वस्थताको लागि तुरुन्तै उपचारको खोजी गर्छन् तर मानसिक अस्वस्थतालाई चिन्नै सक्दैनन् वा थाहा भएपनि लुकाएर राख्ने गर्छन् ।

मानसिक स्वास्थ्य समस्या महिला र पुरुष दुवैलाई हुन सक्छ । अनुसन्धानका अनुसार केही लक्षणहरू पुरुषमा भन्दा महिलामा अधिक भएको पाईएको छ भने समस्या देखिने र प्रभाव रहने अवधि व्यक्तिअनुसार फरक फरक पाईएको छ । उदाशिनता, चिन्ता जस्ता समस्याहरू हर्मोनल उतारचढावका कारण महिलामा बढी देखिएका छन् । त्यस्तै गरी महिनावारी हुने समयमा, गर्भावस्था, सुत्केरी र स्तनपानको समयमा पनि मन अशान्त हुने, छटपटी हुने, शरीर तातो भई ज्वरो आएको महसुस हुने, झिँजो लाग्ने जस्ता समस्याहरू देखिन्छन् । महिलाहरूले आफनो व्यक्तिगत र व्यवसायिक जीवनमा धेरै जिम्मेवारीहरू वहन गरेका हुन्छन् । त्यसमाथी नेपाली समाजमा महिलाप्रतिको सामाजिक विभेद, साँस्कृतिक जिम्मेवारी, तथा रितीरिवाजले पनि महिलाहरू अनेकौँ समस्यामा बाँधिएका हुन्छन् । धेरैथरीका जिम्मेवारीका कारण महिलाहरू आफ्नो लागि प्रयाप्त समय पाउँदैनन् । जसका कारण उनीहरूमा नैराश्यता, दिक्क लाग्ने, टाउको दुख्ने, पेट दुख्ने, कमजोर महसुस हुने, झिँजो लाग्ने, रिस उठ्ने, निद्रा गडबडी हुने, मनमा कुरा खेलिरहने जस्ता समस्या भएको पाइन्छ । करिव सबैजसो महिलाहरूले कुनै न कुनैबेला यस्ता अनुभवह गरेका हुन्छन् ।

मानसिक स्वास्थ्य समस्या कसरी चिन्ने ?

धेरै जसो प्रभावितहरू आफू मानसिक रूपमा कमजोर भएको वा समस्यामा परेको कुरा थाहै पाउँदैनन् । उनीहरू आफूलाई परेको समस्याका बारेमा प्रष्टसँग बताउन पनि सक्दैनन् । आफूलाई के भयो र किन त्यस्तो भयो भन्दै अलमलिरहेका हुन्छन् । त्यसर्थ हरेक घर, टोल, गाउँ, समुदायमा मानसिक समस्याका बारेमा खुलेर कुरा गर्ने वातावरण बनाउनु आवश्यक छ । मानिसलाई यस प्रकारका समस्याका बारेमा सचेत गराउनुपर्दछ । सबैले मानसिक समस्याका लक्षणहरू र यसबाट बच्ने उपायहरूबारे सामान्य जानकारी राख्नु आवश्यक हुन्छ ।

लक्षणहरू

मानसिक स्वास्थ्य समस्याका लक्षणहरू व्यक्तिपिच्छे फरकफरक हुनसक्छन् । तथापि साधारणतया निम्न लक्षणहरू देखिएको अवस्थामा मानसिक समस्या परेको हो भनेर बुझ्न सकिन्छ ।
– उदास वा एक्लोपनको महसुस हुनु,
– दैनिक क्रियाकलापमा ध्यान दिन नसक्नु,
– केही नगरे पनि थकानको महसुस हुनु,
– सामाजिक कामकाजमा रुची नहुनु,
– अत्यधिक डर, चिन्ता, पीर लाग्नु,
– मन अस्थिर हुनु,
– उर्जाशक्तिमा कमी आउनु,
– दुःख परेको कारण आफैलाई मान्नु अथवा आफैलाई दोष दिनु,
– दुःस्वप्नहरू हुनु,
– निद्रामा गडबडी हुनु,
– आफूले आफ्नै हानी गर्नु,
– यौन चाहनामा कमी हुनु, आदि ।

मानसिक समस्या हुनुका कारणहरू

मानसिक समस्या के कारणले हुन्छ भन्नेबारे सबै जानकार हुनु आवश्यक छ । यसका कारणहरूबारे सचेत भएमा यस्ता समस्याहरूको रोकथामका लागि आवश्यक सावधानी अपनाउन सकिन्छ । सामान्यतया तल उल्लेखित अवस्थाका कारण मानसिक समस्या पैदा हुन्छ र निरन्तर रूपमा यी समस्या परेमा समस्या थप जटिल बन्दै जान्छ, जसका कारण मानिसको मृत्यू पनि हुन
सक्छ ।
– एक्कासी अप्रिय घटनाको सामना गर्नुपर्दा,
– निष्क्रिय जीवनशैली हुँदा,
– धान्नै नसक्ने तहमा कामको दबाब वा बोझ हुँदा,
– सामाजिक, आर्थिक वा अन्य कुनै असाधारण चुनौतीको सामना गर्नुपर्दा,
– लामो समय तनावमा रहँदा,
– प्राणघाटक दुर्घटना वा दीर्घरोग लागेमा,
– कुनैपनि हर्मोनजन्य रोग, जस्तै मधुमेह, थाईराईड, आदि भएमा शरीरमा हर्मोनहरू असन्तुलित हुनगई मानसिक स्वास्थमा पनि
असन्तुलन हुन सक्छ ।

धेरैले मानसिक समस्या भएपछि त्यसको समाधान हुन्छ भन्ने जान्दैनन् । तर मानसिक समस्याको उपचार सम्भव छ । यसको लागि समस्या परेको जानकारी भए लगत्तै मनोस्वास्थ्यकर्मीसँग सम्पर्क गर्नुपर्छ । चिकित्सकले दिएको औषधी सही तरिकाले पूर्ण मात्रामा सेवन गर्नुपर्छ । यदि मनोस्वास्थ्यकर्मीले परामर्श वा अन्य कुनै अभ्यास गर्न सिफारिस गरेका छन् भने त्यसलाई पूर्ण रूपमा पालना गर्नुपर्छ । मनोस्वास्थ्यकर्मीको सल्लाहअनुसार बिरामीले आफ्नो जीवनशैली परिवर्तन ल्याउनुपर्छ । यसरी मानसिक समस्याको समाधान गर्न सकिन्छ र स्वस्थ जीवनको आनन्द लिन सकिन्छ ।

मानसिक समस्या भएपछि मात्र त्यसको उपचारमा लाग्ने हैन, यस्ता समस्या नै आउन नदिन सबैजना सजग हुनुपर्छ । हरेक व्यक्तिले निम्न कुराहरू नियमित रूपमा गर्न सकेमा मानसिक समस्यालाई रोकथाम गर्न सकिन्छ ।
– आफ्नो व्यस्त कार्यतालिकाबाट केही समय छुट्याएर आफूलाई मनपर्ने काम गर्ने,
– दैनिक केही समय (कम्तीमा ३० मिनेट)आफ्नो शरीरलाई उपयुक्त हुने व्यायाम गर्ने,
– ध्यान सिक्ने र नियमित रूपमा ध्यान गर्ने,
– पौष्टिक खाना खाने,
– आफूलाई रुची लागेका सीपहरू सिक्ने र आफ्नो कामलाई निरन्तरता दिने,
– सामाजिक काममा भाग लिने, एकआपसमा सद्भाव र सहयोग बढाउने,
– भागदौड र तनावपूर्ण जीवनशैली त्याग्ने,
– तनाव भएमा परिवारका सदस्यहरू वा अन्य विश्वशनीय व्यक्तिसँग खुलेर कुरा गर्ने, 
– रिसराग, हिंसा नगर्ने,
– पर्याप्त आराम गर्ने र आफूलाई माया गर्ने,
– आफूलाई अनकूल समयमा मनोरञ्जनात्मक क्रियाकलाप गर्ने,
– आफूलाई मनपर्ने र विश्वासिलो साथी समूह बनाई नियमित रूपमा भेटघाट तथा कुराकानी गर्ने,
– बेलाबेलामा मनोविमर्शकर्तासँग सम्पर्क राखी परामर्श लिने ।

स्वास्थ नै घन हो । मानसिक स्वास्थ्य सबै स्वास्थ्यको जड हो । मन स्वस्थ भए मात्र तन स्वस्थ हुन सम्भव छ । त्यसैले मानसिक स्वास्थ्यको ख्याल गरौँ, मनको भावनाबारे खुलेर कुरा गरौँ, प्रभावितलाई सहयोग गरौँ र सदभाव राखौँ ।

लेखक अञ्जुलक्ष्मी महर्जन स्टार अस्पताल, सानेपामा मनोविमर्षकर्ता हुनुहुन्छ

अञ्जुलक्ष्मी महर्जन
+ posts

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here

सम्वन्धित सामग्री